आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘सुन्तला लगाउँदा बौलाहा भन्थे, कमाई देखर दंग पर्छन्’

‘सुन्तला लगाउँदा बौलाहा भन्थे, कमाई देखर दंग पर्छन्’

सुन्तलाको लागि आवश्यक सिंचाईका लागि पात्लेखेतमा पानीको कमी छैन् । तर बगानमा देखिने रोग किराको संक्रमणमा भने सरकारले हेरिदिए हुन्थ्यो भन्ने उनीहरुलाई लाग्छ ।


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०८२, शुक्रबार

बागलुङ/उत्तर फर्केको फराकिलो फाँट । कात्तिकको अन्तमा पहेँलपुर देखिने धानका बालाले वर्षमा एक पटक फाँट मनमोहक देखिन्थ्यो । हिउँदका महिना सुख्खा, उराठलाग्दो ।

ठुलो पथ्थरमाथी टक्क बसेको माटोको ढिस्कोमा रहेको काठेखोला गाउँपालिका–४ तंग्रामको पात्लेखेत फाँटको बीचमा आजभोली कात्तिक महिनाको मध्यमा पहेँलपुर धान देख्न मुस्किल पर्छ । हिउँद बर्खा कहिल्यै उराठ नदेखिने बीच भागमा पहेँलपुर हुन पुसको अन्त कुर्नुपर्छ भने माघदेखि मंसिसम्म हरियाली देखिन्छ ।

वरीपरी धानखेतले घेरीएको बीचमा भने पछिल्लो १३ बर्षयता मनमोहक बगैंचा देखिन्छ । झट्ट हेर्दा बीचमा एउटा दाँत फुस्कीएको दन्तलहर जस्तो देखिने फाँटको बीचमा हुर्किरहेका हरिया बिरुवाको कथा भने बेग्लै छ ।

२०७३ सालमा तंग्रामका कृष्णबहादुर पुनले पात्लेखेतको फाँटमा सुन्तलाका बीरुवा लगाउँदा उनलाई गाउँका सबैले बौलाहा भने । धानखाने खेत मासेर गाउँमा बिकृति भित्राएको आरोप लगाए । बालबच्चा हुर्काउन नसक्ने भने । तर छिमेकी वडा बिहुँमा पुगेर तत्कालिन कृषि विकास कार्यालयले दिएको तालिम लिएका कृष्ण बहादुरले हार भने खाएनन् । उनको साहसमा भाई खिमबहादुर पुनले साथ दिए ।

“तालिमसँगै केही बिरुवा पनि कार्यालयले दियो, मैले धान खेत मासेर सुन्तला रोप्नुपर्छ भन्ने निधो गरे” कृष्णबहादुर भन्छन्, “मेरो कुरा मान्ने कोही थिएन्, आफैले आफैलाई सम्झाउँदै खेत मासेर बगान बनाउने सपना देखेँ ।”

१५ मुरी धान फल्ने झण्डै ९ रोपनी खेतभरी उनले एकैपटक सुन्तला लगाए । पहिलो र दोस्रो वर्ष धान पनि नहुने र सुन्तला पनि फल्न नथालेकाले घर चलाउन कठिन भएको उनले सुनाए । तेस्रो वर्षबाट सुन्तलाले उत्पादन दिन थालेपछि भने निकै सजिलो भएको पुन सुनाउँछन् ।

वार्षिक ६० हजार बराबरको धान फल्ने उनको खेतमा सिंचाई अभावका कारण हिउँदे खेती भने खासै हुँदैन । गहुँ, जौ जस्ता बाली लगाउने गरेको भएपनि फसल लिन कठिन हुने गरेको उनले सुनाए ।

कृष्ण बहादुरले गत वर्ष चार लाख बराबरको सुन्तला बेचे, भाई खिमबहादुरले एकदेखि डेढ लाख कमाए । यो वर्ष दुवै भाईको एउटै बगैंचाबाट ६ लाख माथीको सुन्तला बिक्री गरेको उनले सुनाए ।

“बजारको कहिलै समस्या भएन, पहिले गाउँमै बिक्री हुन्थ्यो अहिले व्यापारी बगानमै आएर सुन्तला लान्छन्” खिमबहादुरले भने “सुन्तलाको आम्दानी परम्परागत खेतीको भन्दा कयौं गुना राम्रो छ ।” सुन्तलाको लागि आवश्यक सिंचाईका लागि पात्लेखेतमा पानीको कमी छैन् । तर बगानमा देखिने रोग किराको संक्रमणमा भने सरकारले हेरिदिए हुन्थ्यो भन्ने उनीहरुलाई लाग्छ । अहिले उनीहरुले फलाएको सुन्तला काठमाण्डौं पोखरा लगायतका शहरमा प्रतिकिलो एक सयभन्दा धेरै मुल्यमा बिक्री हुने गरेको छ । अन्यत्रको भन्दा स्वादिलो र रसिलो भएकाले माग धेरै रहेको पुनले बताए । सुन्तलाको प्याकेजिङ, बजारीकरण र औषधि उपचारमा सरकारले सघाउनुपर्ने उनीहरुको माग छ ।

यो वर्ष पुन दाजुभाईको सुन्तला छिमेकी वडा बिहुँमा रहेको साना किसान सहकारीले खरिद गरेको छ । सहकारीमार्फत बजार पुर्याउन बिवाइसी बागलुङ र काठेखोला गाउँपालिकाले सहयोग गरेका छन् । पुन दाजुभाईको पात्लेखेतमा रहेको बगैंचा नमुना मात्रै हो । थोरै लगानी, कम मेहनतमा वर्षेनि मनग्य आम्दानी गर्न यहाँ रहेका खेतबारीभरी सुन्तला बगैंचा बिस्तार गर्नुपर्ने उनीहरु बताउँछन् । छिमेकी वडा काठेखोला–६ बिहुँ बगैंचा बन्दा तंग्राममा भने परम्परागत खेती तोडेर फलफुल खेतीको सुरुवात गर्ने पुन दाजुभाई हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->