पोखरा/कास्कीको लेखनाथमा जारी २६ औ आदर्श कप फुटबल प्रतियोगितामा एन्फा तनहुँले सेमीफाइनलको यात्रा तय गरेको छ । खेलको तेस्रो दिन गन्नी एफसी पर्वतलाई २–१ गोलको अन्तरले तनहुँ सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलमा एन्फा तनहुँको तर्फबाट जर्सी नं ९ का सञ्जय श्रेष्ठले २६ औं मिनेटमा डी एरियाबाट हानेको बलले तनहुँलाई अग्रता दिएको थियो । खेलको ५५ औ मिनेटमा गन्नी एफसीकोतर्फबाट सजिन थापाले हानेको वलले झाली चुमेपछि खेल बराबरीमा पुगेको हो । ७१ औं मिनेटमा गन्नी एफसीको तर्फबाट भएको आत्मघाती गोल नै गन्नीका लागि दुर्भाग्यपूर्ण रह्यो ।
खेलमा एन्फा तनहुँका गोलिकिपर तोरण हिसानले म्यान अफ दी म्याचको उपाधि पाएका छन् । प्रतियोगितामा कास्की ११,होराइजन क्लव वालिङ र एन्फा तनहुँ सेमीफाइनमा प्रवेश गरिसकेको छन् भने सोमबार अन्तिम सेमिफाइनको खेल म्याग्दी जिल्ला र सशस्त्र प्रहरी बलका बीच हुँदैछ ।





