बागलुङ/तेस्रो स्मृति कप फुटबल प्रतियोगितामा आयोजक बागलुङ युनिटी क्लबका दुवै टोलीले विजयी शुरुवात गरेका छन् । मंगलबारको उद्घाटन खेलमा बागलुङ युनिटी क्लब ‘ए’ले बागलुङ जेसिजलाई २–३ र बागलुङ युनिटीकै ‘बी’ले अन्नपूर्ण फुटबल एशोसिएसनलाई समान २–३ गोलले पराजित गर्दे दोस्रो चरणमा प्रवेश गरेका हुन् ।
बागलुङ जेसिजलाई पराजित गर्दा बागलुङ युनिटी ‘ए’ खेलको सुरुवाती १५ मिनेटमै तीन गोल गर्न सफल भयो । अनिष प्रधानले खेलको ५, आशिष परियारले ६ र दिनेश थापाले १५ औं मिनेटमा गोल गरे । दोस्रो हाफमा आक्रमक खेल खेलेपनि जेसिज हार भने टार्न सकेन् । जेसिजको लागि रोहित दर्लामी र विक्रम बुढाले सान्त्वना गोल गरे ।
मंगलबारै भएको दोस्रो खेलमा आयोजक बागलुङ युनिटी क्लब ‘बी’ले अन्नपूर्ण फुटबल एशोसिएसनलाई २–३ गोलले पराजित गरेको छ । युनिटीको जितमा अमन थापा, विनम थजाली र मनिष श्रेष्ठले गोल गरे । निकै प्रतिष्पर्धात्मक खेलमा अन्नपूर्णका सरोज नेपालीले दुई गोलको योगदान गरेपनि त्यो जितको लागि पर्याप्त हुन सकेन् ।
प्रतियोगिताको दोस्रो दिन बुधबार पहिलो खेल संकल्प पुर्नस्थापना केन्द्रविरुद्व जंग एफसी पैयुँ पर्वत र पर्पलहेज एभिएविरुद्व मुलपानीबीच खेल हुने बागलुङ युनिटी क्लबका सचिव रमेश भण्डारीले जानकारी दिए । प्रतियोगितामा ११ टोलीको सहभागिता रहेको छ ।
क्लबले विगत ३ वर्षदेखी दिवंगत सदस्यहरूको स्मरणमा प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको विजेता नगद २ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपियाँ प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमलाई २० हजार रुपियाँ प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विधामा पुरस्कृत गरिने छ ।





