बागलुङ/तेस्रो स्मृति कप फुटबल प्रतियोगितामा संकल्प पुर्नस्थापना केन्द्रले विजयी शुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो भएको खेलमा संकल्पले जंक एफसी पैयुँ पर्वतमाथि संघर्षपूर्ण जित निकालेको हो । जंक एफसिलाई ०–१ गोलले पराजित गर्दा संकल्पका सुजित बुढाथोकीले ९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
वर्षाले हिलाम्य भएको मैदानमा जंक एफसिले दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेपनि संकल्पको बलियो रक्षात्मक बारलाई तोड्न नसक्दा पराजित हुँदै घर फर्कन बाध्य बन्यो । वर्षाले बुधबारका लागि तय भएको पर्पलहेज एभिएविरुद्व मुलपानी बीचको खेल बिहिबार हुने आयोजक बागलुङ युनिटी क्लबका सचिव रमेश भण्डारीले जानकारी दिए ।
प्रतियोगिताको तेस्रो दिन बिहिबार दोस्रो खेल आयोजक बागलुङ युनिटी क्लब ‘ए’विरुद्व रुद्रेपिपल युवा क्लब, तेस्रो खेल संकल्प पुर्नस्थापना केन्द्रविरुद्व गण्डकी प्रदेश प्रहरी र चौथो खेल चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुलले पर्पल हेज एभिए र मुलपानीबीच हुने खेलको विजय टोलीसंग प्रतिष्पर्धा गर्ने खेल तालिका रहेको छ ।
प्रतियोगिताको विजेता नगद २ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमलाई २० हजार रुपियाँ प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विधामा पुरस्कृत गरिने छ ।





