बागलुङ/तेस्रो स्मृति कप फुटबल प्रतियोगितामा सेमीफाइनल समिकरण पूरा भएको छ । बिहिबार सम्पन्न तीन खेलमा रुद्रेपिपल युवा क्लब, संकल्प पुर्नस्थापना केन्द्र र पर्पल हेज एभिएले जित निकाल्दै सेमीफाइनल यात्रा तय गरेका छन् । आयोजक बागलुङ युनिटी क्लब ‘बी’ यसअघि नै सेमीफाइनलमा प्रवेश गरेको छ ।
बिहिबारको पहिलो क्वाटरफाइनल खेलमा बागलुङ युनिटी क्लब ‘ए’ लाई ०–२ गोलले पाखा लगाउँदै रुद्रेपिपल युवा क्लबले सेमीफाइनलमा संकल्प पुर्नस्थापना केन्द्रसंग भेट पक्का गरेको छ । उपाधि दाबेदार मानिएको संकल्प पुर्नस्थापना केन्द्रले बिहिबारको दोस्रो खेलमा डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेश प्रहरीलाई २–१ गोलले स्तब्ध बनायो । संकल्पले गतवर्ष प्रहरीसंग फाइनलमा व्यहोरेको हारको बद्ला समेत लिएको छ ।
रुद्रेपिपलको जितको अभिषेक रानाले खेलको पहिलो हाफको १७ र विमर्श विष्टले ३२ औं मिनेट गोल गरे । प्रहरी र संकल्पबीचको खेल पहिलो हाफसम्म निकै प्रतिष्पर्धात्मक भएपनि दोस्रो हाफमा संकल्प प्रहरीमाथि हाबी बन्न पुग्यो । संकल्पको जितमा सागर तामाङले ३४ र सुजित बुढाथोकीले ४० औं मिनेट गोल गर्दा प्रहरीका नवीन सुनारले ६२ औं मिनेटमा सन्त्वना गोल फर्काएका थिए ।
यस्तै, तेस्रो खेलमा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुललाई ०–२ गोलले पराजित गर्दै पर्पल हेज एभिएम सेमीफाइनलमा प्रवेश गरेको छ । पर्पल हेजको जितमा वरदान थापा र प्रदिप परियारले एक÷एक गोलको योगदान गरे । पर्पल हेजले शुक्रबार हुने सेमीफाइनल खेलमा आयोजक बागलुङ युनिटी क्लब ‘बी’को सामना गर्ने छ ।
प्रतियोगिताको विजेता नगद २ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमलाई २० हजार प्रदान गरिनेछ । खेलमा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विधामा पुरस्कृत गरिने क्लबका सचिव रमेश भण्डारीले जानकारी दिए ।





