बागलुङ/तेस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधिका लागि संकल्प पुर्नस्थापना केन्द्र र पर्पल हेज एभिएम भीड्ने भएका छन् । शुक्रबार बाङेचोर खेल मैदानमा सम्पन्न सेमीफाइनल खेल जित्दै संकल्प र पर्पल हेजले फाइनल यात्रा तय गरेका हुन् ।
शुक्रबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा उपाधि दाबेदार मानिएको संकल्पले रुद्रेपिपल युवा क्लबलाई ०–२ गोल अन्तरले पाखा लगायो । संकल्प दोस्रो स्मृति कपको उपविजेता टोली समेत हो । संकल्प पुर्नस्थापना केन्द्रको जितमा खेलको पहिलो हाफमा उर्गेन तामाङले १६ र रविन मगरले ३६ औं मिनेटमा गोल गरेका थिए ।
यस्तै, शुक्रबारै भएका दोस्रो सेमीफाइनल खेलमा आयोजक बागलुङ युनिटी क्लब ‘बी’ लाई ०–३ गोल अन्तरले पराजित गर्दै पर्पल हेज एभिएम उपाधि नजिक पुगेको छ । पर्पल हेजको जितमा संगम केसीले २ र अभिषेक केसीले एक÷एक गोलको योगदान गरे । संगमले खेलको ४४ र ७९ औं गोल गर्दा अभिषेक केसीले ७० औं मिनेटमा गोल गरे ।
फाइनल खेल शनिबार दिउँसो २ बजे हुने आयोजक बागलुङ युनिटी क्लबका सचिव रमेश भण्डारीले जानकारी दिए । प्रतियोगिताको विजेता नगद २ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमलाई २० हजार प्रदान गरिनेछ ।
खेलमा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलगायत विभिन्न विधामा पुरस्कृत गरिने क्लबका सचिव भण्डारीले जानकारी दिए ।





