बागलुङ/चार दशक सेवा गरेका शिक्षकलाई गलकोट नगरपालिका वडा नंं. १० स्थित पाण्डवखानी माविले दिर्घसेवा गर्ने शिक्षकलाई सम्मान तथा बिदाइ गरेको छ । चालिस वर्षसम्म शिक्षक भएर विद्यालयमा अध्यापन गराएका शिक्षकलाई सम्मान गरेको हो ।
विद्यालयका सहायक प्रधानाध्यापक रहेका शिक्षक नन्दबहादुर पुन बुढा र अर्का शिक्षक गिरिप्रसाद थापालाई सम्मान गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्ती र संविधानसभा सदस्य निरज पुनले शिक्षकलाई सम्मान गरे । उनीहरुले विद्यालयको संकट अवस्थादेखि अहिले सम्मको अवस्थामा सेवा गरेर सिंगो पाण्डवखानी क्षेत्रलाई नै योगदान गरेको संविधानसभा सदस्य पुनले बताए ।
सहयाक प्रअ पुन विज्ञान र गणित विषयका शिक्षक हुन् भने थापा अंग्रेजी विषयका शिक्षक हुन् । दुवै जनाले उमेर हदले अबकास पाउन लागेका छन् । ग्रामीण क्षेत्रको विद्यालयमा गणित, विज्ञान र अंग्रेजी शिक्षक पाउन मुस्किल भैरहेको बेला उनीहरुले वर्षौदेखि गाउँ रोजेर सेवा गरेका थिए । उनीहरुको योगदानले भौगोलिक रुपमा दुर्गम भएर पनि पाण्डवखानीमा शैक्षिक जागरण देखिएको अध्यक्ष घर्तीले बताए ।
उनको सम्मानमा विद्यार्थी, शिक्षकसहित पाण्डवखानीका अभिभावकहरुको ओइरो लागेको थियो । उनीहरुले शिक्षण पेशाबाट अबकास पाएपछि भने नयाँ शिक्षकको अभाव हुनेमा प्रअ नविन भावुकले चिन्ता व्यक्त गरेका छन् । नगरपालिकाले उचित समयमा उचित शिक्षक पठाएर सहयोग गर्ने उनले बताए । तर, चालिस वर्षदेखि क्रियाशिल शिक्षकहरुको जस्तो योगदान दिन नयाँ शिक्षकलाई निकै अप्ठ्यारो हुने समेत उनको भनाइ छ ।





