पोखरा/मोफसलकै चर्चित आहा रारा पोखरा गोल्डकप आगामी २७ गतेबाट हुने भएको छ । सहारा क्लब पोखराको आयोजनामा हुने २५ औं संस्करणको प्रतियोगिताको तयारी तीब्र पारिएको छ ।
प्रतियोगिताबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक पूर्ण गुरुङका अनुसार यसपटक पोखरेलीले रात्रीकालीन फुटबल हेर्न पाउने भएका छन् ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा अस्थायी फ्लड लाइटको व्यवस्था गरेर पोखरामा रातको समयमा समेत फुटबल खेलाउन तयारी गरिएको गुरुङले बताए । उनका अनुसार आहा रारा गोल्डकपले २५ वर्ष मनाउने क्रममा अस्थाई फ्लड लाइटमा जोड गरेको हो ।
यस्तै क्लबका अध्यक्ष केशवबहादुर थापाले आगामी २७ गतेदेखी फागुनको ९ गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिए । उनका अनुसार यस पटक प्रतियोगितामा ४ विदेशी टिमको सहभागिता रहनेछ । गत संस्करणसम्म १० टिमको सहभागिता रहेको प्रतियोगितामा यसपटक १२ टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा विदेशी राम्रो टिम ल्याउने प्रयास क्बले गरेको छ । गत संस्करणमा खेलेका दुइ टिमसहित अन्य विदेशी टिम पनि आउने भएका हुन् । यसले प्रतियोगिताको स्तरलाई बढाउने र विदेशी टिम उपाधि जित्ने गरी आउन लागेको अध्यक्ष थापाको भनाइ छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले मोफसलका गोल्डकपहरुको मिति जुधाइदिँदा निकै असर गरिरहेको देखिएको छ । जसका कारण टिमहरु समेत विभाजित हुन पुगेका छन् । यसपटकको आहा गोल्डकपमा विभागीय क्लब त्रिभुवन आर्मीको सहभागिता हुनेछैन् ।
प्रतियोगितामा आयोजक सहारा क्लबसहित नेपाल पुलिस क्लब, मनाङ मस्र्याङदी क्लब, चर्च ब्वाइज युनाइटेड, एपिएफ क्लब, जाउलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब, प्लानिङ ब्वाइज युनाइटेड, थनडरवोल्ड नर्थ युनाइटेड सिक्कीम, गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ, आभ फुटबल क्लब उज्वेकिस्तान र भारतको अर्को एक टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार र उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ ।




