शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जितेर पनि अवसर गुम्ने अवस्थामा नेपाल

जितेर पनि अवसर गुम्ने अवस्थामा नेपाल

नेपालका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले भुटानविरुद्ध सोचे जस्तो खेल नभएको सुनाए । भारतविरुद्ध हार व्यहोर्दा नेपालले उत्कृष्ट प्रदर्शनी गरेपनि भुटानविरुद्धको खेलमा भने निकै कमी कम्जोरी भएको उनले स्विकार गर्दै यो जितले पर्याप्त नभएको बताए ।


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८२, मंगलबार

पोखरा/पोखरामा जारी साफ यु १९ महिला च्याम्पियनसीपमा सोमबार २ खेल भयो । पहिलो खेल भारत र बंगलादेशबीच भयो भने दोस्रो खेल नेपाल र भुटानबिच भयो ।

बंगलादेशले भारतलाई २–० ले हरायो । जितसँगै बंगलादेशले फाइनलको यात्रा करिब करिब पक्का गरिसकेको छ । भारतको हार नेपालको लागि ठूलो अवसर बन्यो ।

तर, त्यो अवसरलाई भुटान विरुद्धको खेलमा देखाउनै पर्ने थियो । पहिलो खेल भारत र बंगलादेशबिच भएकाले नेपालले त्यो अवसर पाएको थियो । उच्च मनोबलका साथ जारी प्रतियोगिताको सबैभन्दा कमजोर देखिएको भुटानविरुद्ध नेपालले राम्रै नतिजा ल्याउने आँकलन गरिएको थियो ।

खेल सुरु भयो पहिलो हाफमा १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप सुधारिएको खेल पस्कने अपेक्षा रहेपनि नेपालले निकै कम्जोर प्रदर्शनी गर्दा फाइनल पुग्ने सम्भावनालाई अत्यन्त न्युन बनाएको छ ।

खेलको सुरुवातबाटै भुटानमाथि नेपाल हाबी भएपनि स्कोर गर्न पर्ने पटक–पटक चुक्यो । नेपालको वर्षा ओलीले कयौं पटक पाएको अवसरको सदुपयोग गर्न सकिनन् । उनी पटकपटक विफल हुन पुगिन् । समग्रमा नेपाल र भुटानको खेल २–१ गोलमा टुंगियो । सुरुवाती २–० को अग्रता लिएको नेपाल अग्रता जोगाउनकै लागि संघर्ष गर्नुप¥यो ।

खेलको ३६ औं मिनेटमा सिर्जना बडुवालले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । नेपालको अफसाइडपछि भुटानी गोलरक्षक सोनम छोदेनले किक गरेको बललाई सिर्जनाले नियन्त्रणमा लिने प्रयास गर्दा डिफेन्डर खानदु तासोमोले क्लियर गर्ने प्रयास गरेपनि चुक्दा पुनः सिर्जनाले अघि बढाउँदै गरेको प्रहारले सोझै जाली चुमेको हो ।

त्यसअघि खेलको दशौं मिनेटमा वर्षा ओलीले पाएको स्वर्ण अवसर समेत खेर गयो । २० औं मिनेटमा भूमिका बुढाथोकीले अर्को अवसर खेर फालिन् । २२ औं मिनेटमा संगीता कुमारी मल्लले अर्को अवसर खेर फालिन् । ३० औं मिनेटमा वर्षाले पुनः अर्को अवसर खेर फालिन् ।

पहिलो हाफमा १–० को अग्रता कायम गरेको नेपालले ६९ औं मिनेटमा प्रजिता राइको गोलमा अग्रता दोब्बर बनायो । वर्षाको असिस्टमा उनले सहजै गोल गरिन् । वर्षाले सेन्टर लाइन नजिकबाट बल अघि बढाउँदै दिएको पासमा उनले गोल गरेकी हुन् ।

तर, ८७ औं मिनेटमा नेपालको डिफेन्डर र गोलरक्षकबीच तालमेल नमिल्दा भुटानकी सोनाम छोदेनले गोल गरिन् । त्यसपछि भने नेपाल निकै दबाबमा प¥यो । भुटानले अग्रता घटाएसँगै नेपालको लागि ठूलो अवसर गुमेको हो ।

नेपालका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले भुटानविरुद्धको खेलबाट आफु असन्तुष्टि रहेको प्रतिक्रिया दिँदै खेलाडीको दोष रहेको सुनाए । उनले नेपालले आज ठूलो गोलअन्तरले खेल जित्नुपर्ने भएपनि खेलाडीबीच आपसी समन्वयको अभाव र मैदानमा खेलाडी विभाजित हुँदा आवश्यक स्कोर निकाल्न नसकिएको सुनाए । सोचे जस्तो खेल नभएको सुनाए । भारतविरुद्ध हार व्यहोर्दा नेपालले उत्कृष्ट प्रदर्शनी गरेपनि भुटानविरुद्धको खेलमा भने निकै कमी कम्जोरी भएको उनले स्विकार गर्दै यो जितले पर्याप्त नभएको बताए ।

भुटानलाइ इजी टेक गरेको देखिएको र भुटानले निकै मिहेनत गरेको देखिएको उनले सुनाए । निरन्तर महिलाको टिमलाई बनाउँदै गर्दा मैदानमा ग्रुपिजम देखिएको समेत सुनाए ।

‘मैदानमा आज गु्रपिजम पनि देखियो । खेलाडीलाई गोलगर्न हतार भएको देखियो । भन्छन् खेलमा कोच र टेक्निकल टिमले जिम्मा लिनुपर्छ भन्छन् । रिजल्टको तर आज म लिन चाहँदिन । आजको सबै दोष म खेलाडीलाई नै दिन चाहन्छु । छोटो समयमा हामीले राम्रो गर्दा पनि, हरेक साइडमा मुभमेन्ट गर्दा पनि खेलाडीले यस्तो खेल खेल्नु भनेको म पूर्ण आश्चर्यमा परेकी कसरी यो सम्भव छ,’ उनले भने, ‘आज खेलाडीको खेल देखेर म आफैँ आश्चर्यमा परे । जबकी हामीले दुःख गरेर जुन सेभ बनाएका थियौं । त्यो आज देखिएन सबै मार्गहरु खेलाउँदा पनि हामीले गर्न सकेनौं । म आज १० प्रतिशत पनि सन्तुष्ट छैन् । बरु भारतविरुद्ध रिजल्ट विगार्दा पनि खेलमा सेभ थियो , आज केही देखिन धेरै कुरामा चुक्यौ ।’

अब नेपालले उपाधि दाबेदार बंगलादेशसंग अन्तिम खेल खेल्नेछ भने भारतले कम्जोर भुटानसंग । नेपालको फाइनल पुग्ने यात्राका लागि भारत र भुटानबिचको खेल संगै बंगलादेशलाई समेत हराउनुपर्ने बाध्यता छ । तर, नेपालले बंगलादेशलाई हराएर मात्रै हुँदैन भारत र भुटानबिचको खेलमा कति गोल अन्तर हुन्छ त्यसले समेत ठूलो अर्थ राख्नेछ ।

बुधबार विहान भारत र भुटानबिच पहिलो खेल हुनेछ भने नेपाल र बंगलादेशबिच दोस्रो खेल हुनेछ । जारी प्रतियोगितामा २ खेल खेलेको बंगलादेशको २ जितसहित ६ अंकका साथ शीर्षस्थानमा छ भने समान खेल खेलेको नेपाल र भारतको १ जित, १ हारसहित समान ३–३ अंक रहेको छ । भुटान २ खेलमा हारसहित अंकविहीन छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->