पोखरा/आयोजक प्रतिभा मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा–३ नदीपुरस्थित प्रतिभा माविद्वारा आयोजित प्रतियोगितामा आयोजक प्रतिभा मावि सेमीफाइनलमा प्रवेश गर्ने तेस्रो विद्यालय बनेको हो । यसअघि बाल मन्दिर मावि र छोरेपाटन मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको सेमीफाइनलमा पुग्न अब एक टिम मात्रै बाँकी छ । जसमा गुरुकुल मावि र मदरल्याण्ड सेकेण्डरी प्रतिष्पर्धामा छन् । जसको छिनोफानो शुक्रबार हुने यी दुई विद्यालय बीचको प्रतिष्पर्धाबाट हुनेछ । दुबै विद्यालयले एक÷एक खेल जितेकाले शुक्रबारको खेल जित्ने विद्यालय सेमीफाइनलमा प्रवेश गर्नेछ भने पराजित विद्यालय प्रतियोगिताबाट बाहिरिने छ ।
प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा प्रतिभा माविले नेपाल भारत मैत्री विद्यालयलाई ८४ रनले पराजित ग¥यो । पहिलो खेलमा वाराही माविलाई ३ विकेटले पराजित गरेको प्रतिभा मावि लगातार दुई खेल जित्दै प्रतियोगिताको सेमीफाइनलमा पुगेको हो ।
शुक्रबारको खेलमा टस जितेर पहिले व्याटिङ रोजेको प्रतिभा माविले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेटको क्षतिमा १४० रनको योगफल तयार गरेको थियो ।
१४१ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको नेपाल भारत मैत्री विद्यालय ११ ओभरमा सबै विकेट गुमाएर ५६ रनमा सीमित रह्यो । सो खेलमा विजयी प्रतिभा माविका ५ विकेटधारी निश्चल दाहाल प्लेयर अफ दी म्याच घोषित भए ।
शुक्रबार भएको अर्को खेलमा गुरुकुल सेकेण्डरीले जनप्रिय माविलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गर्ने आशा जीवितै राखेको छ । टस जितेर जनप्रिय माविले बलिङ रोजेपछि पहिले व्याटिङ गरेको गुरुकुलले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १४४ रन बनायो ।
१४५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जनप्रिय मावि ८.३ ओभरमा सबै विकेट गुमाएर केवल ३४ रनमा समेटियो । सो खेलमा गुरुकुलका सुदीप सुनार प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेलमा मदरल्याण्ड र गुरुकुल तथा दोस्रो खेलमा कुमुदिनी होम्स र टप्स मावि प्रतिष्पर्धामा उत्रिनेछन् । शुक्रबारको खेलसँगै सेमीफाइनल समीकरण पूरा हुनेछ ।





