पोखरा/आइसिसी टि२० विश्व कप भोलिबाट सुरु हुँदैछ । भारत र श्रीलंकामा हुने विश्वकप सुरु हुँदैछ । २० राष्ट्रको सहभागि रहेको विश्वकपमा नेपालको समेत सहभागिता छ । नेपाल समूह ’सी’ मा रहेको नेपालले आइतबार इङ्ल्यान्डसँग खेल्दैछ ।
विश्वकप अघि नेपालले ठूला राष्ट्रसंग कुनै वार्मअप खेल खेल्ने मौका पाएन । तर, युएई र क्यानडासंग भने खेल्यो । दुई राष्ट्र विरुद्ध जित हासिल गरेको नेपाल विश्वकप अघि आत्मविश्वासी देखिएको छ ।
समूह ‘सी’ मा नेपालले इटाली, वेस्ट इन्डिज, स्कटल्याण्डसँग खेल्ने छ । नेपालका लागि इंल्याण्ड र वेस्ट इन्डिज मुख्य चुनौति हुनेछ । अन्य राष्ट्र नेपालकै स्तरको रहेकाले उक्त खेलमा जित हासिल गर्न सक्ने पनि देखिन्छ । तर, विश्व विजेता दुइ राष्ट्रविरुद्ध बढि नै मिहेनत गर्नुपर्ने देखिन्छ ।
आज वानखेडेमा भएको कप्तान मिटमा नेपालका कप्तान रोहित पौडेलले २०१४ को विश्वकप हेरेर अहिले विश्वकप खेलेको पुस्ताले अहिले विश्वकप खेलेको र यहि विश्वकप हेरेर आगामी पुस्ता आउने समेत बताएका थिए । उनले आफुहरु विश्वकपका लागि तयारी रहेको समेत सुनाए ।
त्यसअघि बिहिबार चेन्नईमा एमएसी मैदानमा भएको अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको थियो । नेपालले ओपनर आसिफ शेखको अर्धशतक, सन्दीप जिरा र गुलशन झाको साथमा नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
रिटायर्ड आउट हुनुअघि आसिफले दोस्रो विकेटका लागि सन्दीपसँग ८४ रनको साझेदारी गरेका थिए । २९ बल खेलेका आसिफले ६ चौका र ३ छक्कासहित ५८ रन बनाए । सन्दीपले ३० बलमा ४ चौका र १ छक्काका साथ ४४ रन जोडे ।
गुलशन २५ बलमा ५ चौकासहित ३१ र दीपेन्द्र सिंह ऐरी ९ रनमा नटआउट रहे । अर्का ओपनर कुशल भुर्तेल १२ र लोकेश बम ५ रनमा आउट भए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६१ रन बनायो । नभिनित धालिवालले सर्वाधिक ४१ रन र श्रेयस मोभाले ३८ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २, सोमपाल कामी र नन्दन यादवले समान १ विकेट लिए। पहिलो अभ्यास खेलमा नेपालले युएई लाई ७ विकेटले हराएको थियो ।
त्यसअघि युएई विरुद्ध नेपालले ७ विकेटको जित हासिल गरेको थियो । १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । यो दुइ खेलले नेपालले जारी विश्वकपमा उत्कृष्ट प्रदर्शनी गर्ने अपेक्षा गरिएको छ । नेपालले २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो ।





