पोखरा/साफ यु–१९ च्याम्पियनसिपको फाइनलमा भारतसामु बंगलादेश स्तब्ध भएको छ । पोखरामा शनिबार भएको फाइनल खेलमा बंगलादेशमाथि ४–० को सानदार जित हासिल गर्दै भारतले यु १९ च्याम्पियनसिपको उपाधि चुमेको छ ।
च्याम्पियनसिपको फाइनलसम्म अपराजित रहेको बंगलादेशले फाइनलमा भने लज्जास्पद हार व्यहोर्न बाध्य भयो । भारतले लिगचरणमा २–० को हारको बदलासमेत लिएको छ ।
खेलको सुरुवातबाटै बंगलादेशमाथि हाबी भएको भारतले ४२ औं मिनेटमा पहिलो गोल ग¥यो । कप्तान जुलन नोङमाथेमले प्रतिका बर्मनको पासमा गोल गरिन् । पहिलो हाफमा १–० ले पछि परेको बंगलादेशले दोस्रो हाफमा लय गुमाउँदा थप ३ गोल खान पुग्यो ।
खेलका ५१ औं मिनेटमा बंगलादेशले बराबरीको स्वर्ण अवसर गुमायो । शान्ति मर्दीको पासमा श्री मोटी तृसना रानीले वान भर्सेस वानको स्थितिमा गरेको प्रहार फस्ट बार नजिकैबाट बाहिरिदाँ बराबीको अवसर गुमेको हो ।
६३ औं मिनेटमा भारतले पेनाल्टीमार्फत अग्रता दोब्बर बनायो । प्रोतिमा मुन्डाले अल्भादेवी सेनजमलाई पेनाल्टी एरियामा लडाएपछि पेनाल्टिको अवसर पाएको थियो । एलिजावेद लाकराले पेनाल्टीमा गोल गरिन् ।
६८ औं मिनेटमा बंगलादेशको डिफेन्डरले ब्याक पास खेल्दा गोलरक्षक यर्जन वेगमले क्लियर गर्न खोजेको बल भारतको फरवार्ड पेरल फर्नान्डेजले रोक्दै सहजै गोल गरिन् । ८० औं मिनेटमा मोस्ट मुन्की अख्तेरको प्रहारलाई भारतकी गोलरक्षक मुन्नीले बचाउ गर्दा बंगलादेशको अर्को अवसर खेर गयो ।
८३ औं मिनेटमा परिवर्तित खेलाडी अन्वीता रघुरमणले गोल गरिन् । उनले अभादेवीको पासमा गोल गरिन् । फाइनलमा बंगलादेशले निकै कम्जोर प्रदर्शनी गरेको थियो । खेल अवधिभर केहि राम्रा अवसरहरु बनाएपनि त्यसको सदुपयोग गर्न बंगलादेशले सकेन् । पहिलो हाफमा प्रतिस्पर्धात्मक खेलेपनि आक्रमक भारतलाई रोक्ने प्रयासमै बंगलादेश व्यस्त देखिएको थियो । खेलमा बंगलादेशले लिगचरणमा झै आक्रमक खेल पस्कन भने सकेन् ।
च्याम्पियनसिपमा बंगलादेशकी अल्पि अख्तर सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्ता बनिन् । उनले च्याम्पियनसिपभर कुल ७ गोल गरिन् । भुटान र नेपाल विरुद्ध ह्याट्रिक र भारत विरुद्ध एक गोल गरेकी थिइन् । भारतकी गोलरक्षक मुन्नी उत्कृष्ट गोल घोषित भइन भने फेयर प्ले अवार्ड समेत भारतले नै हात पा¥यो । च्याम्पियनसिपका भारत, बंगलादेशसंगै नेपाल र भुटानको सहभागिता रहेको थियो ।





