पोखरा/पोखरा–७, मासवारस्थित मदरल्यान्ड माविमा तीनदिनसम्म सांस्कृतिक कार्यक्रम संचालन भयो । सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीको नाचगान मात्र विद्यालयमा आयोजना गरिएन की विद्यार्थीले चित्रकलामार्फत क्षमता देखाउने अवसर पनि त्यही कार्यक्रमलाई बनाए ।
त्यत्ति मात्र नभई भजनदेखि योगासम्मका प्रदर्शनी विद्यालयमा आयोजना गरियो । गाउने र नाच्ने कार्यक्रम त नियमित नै थिए । कलादेखि गलासम्म र भजनदेखि योगासम्मका कार्यक्रमले धेरैको ध्यान तान्न सफल भयो ।
विद्यालयले विद्यार्थीमा रहेको अन्तरनिहित क्षमता प्रस्तुत गराउनका लागि हरेक वर्ष तीनदिने सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । यो पटक आयोजित ३१ औं संस्करणमा पनि भजन, योगा, नाटक सहित गायन र नृत्य समेटियो । ‘विद्यार्थीले कुनै न कुनै कार्यक्रममा आफुलाई सहभागिता बनाउने मौका पाए,’ विद्यालयका प्राचार्य डा.नारायण बरालले भने, ‘जो सँग जे क्षमता छ, त्यही क्षमता विद्यार्थीले तीनदिनको अवधिमा देखाएका थिए ।’
विद्यार्थीमा फरक क्षमता हुने भएकोल पनि उनीहरुका लागि कार्यक्रम त्यही अनुसार व्यवस्थापन गरेको प्लस टु इन्चार्ज नारायण आचार्यले बताए ।
शनिबार अन्तिम दिनको कार्यक्रममा प्रमुख अतिथि प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले मदरल्याण्ड स्कुलको रिजल्टले देशभित्र मात्र नभइ अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिनिधित्वि गर्ने गरेको बताए ।
विद्यालयका निर्देशक डा. त्रिभुवन शर्माले विद्यार्थीले तीनदिन अवधिमा आयोजित कार्यक्रमबाट सहकार्यको सीप सिकेको बताए । विद्यालय संचालक समितिका अध्यक्ष प्रेमनारायण पोखरेलले विद्यालयमा हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीको चौतर्फी क्षमताको विकास हुने बताए ।
विद्यालयका प्राचार्य बरालका अनुसार बिहीबार पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि कार्यक्रम आयोजना गरिएको थियो । दोस्रो दिन ४ देखि ८ कक्षासम्मका बालबालिकाले प्रतिभा देखाएका थिए भने शनिबार ९ देखि १२ कक्षासम्मका विद्यार्थीले कार्यक्रम पस्केका थिए ।




