पोखरा/मोफसलकै चर्चित आहा रारा पोखरा गोल्डकपको तयारी पुरा भएको छ । सहारा क्लब पोखराको आयोजनामा हुँदै आइरहेको गोल्डकपको २५ औं संस्करणको तयारी पुरा भएको हो ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं’ भन्ने नारासहित सञ्चालन हुँदै आएको प्रतियोगिताले यस पटक रजत वर्ष मनाउँदै छ ।
यही २०८२ माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरामा आयोजना हुने भएसँगै सम्पूर्ण तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ ।
विगत २५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतिष्ठित प्रतियोगिता सन्ध्याकालीन समयमा सञ्चालन हुने भएको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
प्रतियोगितामा १२ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिएका छन् । उनका अनुसार ८ स्वदेशी, ३ विदेशी र आयोजक सहारा क्लब पोखरा रहेका छन् । स्वदेशी टिमहरूमा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युवा क्लब, प्लानिङ ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लब रहेका छन् । विदेशी टिमका रूपमा उज्वेकिस्तानको आभा फुटबल क्लब, भारत (सिक्किम) को थण्डरबोल्ट नर्थ युनाइटेड र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब सहभागी हुनेछन् ।
हिमश्री फुड्सकाका निर्देशक किरण केसीले साहारा क्लबले फुटबल विकासका लागि निरन्तरता दिँदै २५ औं संस्करण मनाउनु सामान्य कुरा नरहेको बताएका छन् ।
यसअघि विदेशी ४ टिमको सहभागिता हुने भनिए पनि भारतको एक टिम नआएको आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ ।
सिजनल टिकटको मूल्य १ हजार २०० रुपैयाँ तोकिएको छ भने जर्सीसहित सिजनल टिकट ३ हजार रुपैयाँमा उपलब्ध हुनेछ । खेल अनुसार साधारण टिकट दर १०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म कायम गरिएको छ ।





