पोखरा/सहारा क्लब पोखराको आयोजनामा आजबाट आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । पोखरा रंगशालास्थित फुटबल मैदानमा यस पटक रातको समयमा खेलाउने गरी पोखरा रंगशाला मैदान छेउमा अस्थायी लाइटको समेत व्यवस्था गरिएको छ ।
२५ औं संस्करण पुगेका कारण क्लबले रात्रीकालिन फुटबल खेलाउने चेष्टा गरेको हो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र हङकङको गोर्खा फुटबल क्लब भिड्दैछन् ।
प्रतियोगिताको दोस्रो दिन विभागीय क्लब एपीएफ क्लबले मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । तेस्रो दिन अर्थात फागुन १ गते फ्रेण्ड्स क्लबले प्लानिङ ब्वाइजको सामना गर्ने छ । चौथो दिन विभागीय क्लबले पहिलो प्रि क्वार्टरफाइलिष्ट विजेतसँग खेल्ने छ ।
पोखराको यो गोल्डकपमा गर्विलो इतिहास लेखेको भाग्यमानी नेपाल पुलिस क्लब, दर्शकले औधी रुचाएको मनाङ मस्र्याङ्दी क्लब, प्लानिङ ब्वाइज युनाइटेड, थण्डरबोल्ड नर्थ युनाईटेड सिक्किम, गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ, आभा फुटबल क्लब उज्वेकिस्तान, चर्च ब्वाइज युनाईटेड, नेपाल एपीएफ क्लब, जाउलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब, फ्रेण्ड्स क्लब र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्नेछ ।
उज्वेकिस्तानको टोली नयाँ हो । तर खेलाडी अघिल्लो वर्ष गोल्डकपमा सहभागी भएका खेलाडीलाई पोखराको मैदानमा उतार्ने क्लबले जानकारी दिएको छ । प्लानिङ ब्वाईज, गोर्खा इन्टरनेशनल गोल्डकपमा सहभागि नयाँ टोली हुन् । जावलाखेल लामो समयपछि पोखराको मैदानमा उत्रिने छ ।
२५ औं संस्करणसम्म आइपुग्दा क्लबले पुरस्कार राशी समेत बढाएको छ । प्रतियोगितामा केही टिम नयाँ छन् । नयाँ र पुराना क्लबले १४ लाख १ हजार नगद पुरस्कार राशीको उपाधिको लागि नकाउट फुटबल खेल्ने छन् । उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउने छ ।
यसैगरी अनुशासित टोलीलाई २५ हजारसहित ट्रफी प्रदान गरिने छ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई नगद २५ हजार जनही प्रदान गरिने छ ।





