पोखरा/२५ औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लब पोखराले विजयी सुरुवात गरेको छ । सहाराको लागि प्रसन्न श्रेष्ठले निर्णायक गोल गरे । श्रेष्ठले निर्धारित समय सकिएपछिको थपिएको चौथो मिनेटमा करिब ४० यार्डबाट गरेको प्रहार गोलमा परिणत हुँदा पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ निराश बन्नु परेको हो । जीतसँगै आयोजक सहारा क्वाटरफाइनलमा प्रवेश गरेको छ । सहाराले क्वाटरफाइनलमा नेपाल पुलिस क्लवको सामना गर्नेछ । विजयी गोल गरेका प्रसन्न मंगलबारको प्लेयर अफ द म्याच पनि घोषित भए । प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । प्रतियोगिताअन्तर्गत बुधबार जाउलाखेल युथ र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
२५ औं संस्करणको प्रतियोगिता फ्लड लाइट कृतिम उज्यालोमा राति खेलाइएइको थियो । तर, आवश्यक तयारी नपुगेकाले मंगलबारको उद्घाटन खेलमा मैदान झलमल्ल देखिएन । दुबै टिमलाई लाइटबारे कुनै गुनासो नगर्ने सर्तमा प्रतियोगिताको उद्घाटन खेल खेलाइएको थियो । २५ वर्षदेखि निरन्तर हुँदै आएको प्रतियोगिताका दर्शकहरुलाई चाहिँ मैदान भएको प्रकाश अभावले खुसी बनाएन ।
प्रितिलाई सम्मान
सहारा क्लबले प्रदान गर्दै आएको सहारा वर्ष उत्कृष्ट खेलाडीबाट यो वर्ष प्रीति राई सम्मानित भएकी छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानरपालिकाका मेयर धनराज आचार्यले ५१ हजार नगदसहित सम्मानित गरे ।
यसअघि फुटबलर आयुष घलान, भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिष्ट र अनन्त तामाङ सहारा वर्षोत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भइसकेका छन् । यस्तै सहाराले उद्घाटनकै अवसरमा क्लबलाई सघाउने विभिन्न २५ जना व्यक्तिलाई पनि सम्मान प्रदान गरेको छ ।





