पोखरा/पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा जावलाखेल युथ क्लबले विजयी सुरुवात गरेको छ । सहारा क्लब पोखराको आयोजनामा जारी २५ औं संस्करणको गोल्डकपमा बुधबार मछिन्द्रलाई हराउँदै जावलाखेलले सहज जीत निकालेको हो ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा जावलाखेलले २–० को जित हासिल ग¥यो । जावलाखेलका लागि दुई विदेशी खेलाडीले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । खेलको दोस्रो हाफमा मछिन्द्रमाथि हाबी भएको जावलाखेलले २ गोलको अग्रता लियो ।
खेलको ४१ औं मिनेटमा मछिन्द्रले गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो । जावलाखेलका गोलरक्षक युनिस चौधरीले क्लियर गर्ने क्रममा मछिन्द्रका राजन पुनलाई लाग्दै गोललाइन नजिक पुगेको बल युनिसले नै जोगाए ।
५४ औं मिनेटमा जावलाखेलका निकोलस ओडाने हामिल्टोनले अग्रता दिलाए । उनले बोउबाकर सिसोक्सोलाई दिएको पासमा ओडानेले नै गोल गरे । ६६ औं मिनेटमा बोउबाकर सिसोक्सोले अग्रता दोब्बर पारे ।
मंगलबार देखी सुरु भएको प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको पोल ‘ए’ मा नेपाल पुलिस क्लब, आयोजक सहारा क्लब, गोर्खा फुटबल क्लब हङकङ, एपिएफ, मनाङमस्र्याङदी क्लब र डन्थरबोल्ट नर्थ युनाइटेड रहेका छन् । यस अघि सहारा क्लबले गोर्खालाई १–० ले हराउँदै क्वाटरफाइनलमा पुलिस संगको भेट पक्का गरिसकेको छ ।
यस्तै पोल ‘बि’ मा जावलाखेल र मछिन्द्रसहित, चर्च ब्वाइज युनाइटेड, फ्रन्डस क्लब, प्लानिङ ब्वाइज युनाइटेड र आभा फुटबल क्लब उज्वेकिस्तान रहेको छ ।
नयाँ र पुराना क्लबले १४ लाख १ हजार नगद पुरस्कार राशीको उपाधिको लागि नकाउट फुटबल खेल्ने छन् । उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउने छ ।
यसैगरी अनुशासित टोलीलाई २५ हजारसहित ट्रफी प्रदान गरिने छ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई नगद २५ हजार जनही प्रदान गरिने छ । प्रतियोगिता अन्तरगत आज नेपाल पुलिस क्लब र मनाङ मस्र्याङदी क्लब बीच खेल हुँदैछ ।





