बागलुङ (खर्वाङ)/दुईभाई छोरा घर बाहिर छन् । जेठो अमेरिका । कान्छो काठमाण्डौंमा इन्जिनियर पढ्दै । घरमा कुलप्रसाद र सिता कंडेल दम्पती मात्रै । ५० वर्ष पुगेका कुल प्रसादलाई अझै केही वर्ष घर छोड्न मन छैन । कारण २० वर्षदेखि दुख गरेको सुन्तला बगैंचा ।
घरवरपर बुबाले लगाएका सुन्तलाका केही बोट अझै उस्तै छन् । तिनै सुन्तलाका बोट वरिपरि २० वर्षदेखि कुलप्रसाद आफैले सुन्तला खेती विस्तार गरिरहेका छन् । सयौंका सुन्तलाका बोटले २० रोपनी आफ्नै जमिनमा उत्पादन दिईरहेका छन् ।
“कान्छो छोराले काठमान्डौं बोलाईरहेको छ । जेठोले बस्नै गरी नआए नि घुम्न भएनि एक पटक अमेरिका आउनु भनेको छ” कुल प्रसादले भने, “मेरो लागि अझै केहि समय मैले गर्न सक्छु । मैले सकुन्जेल कतै जान्न यतै आन्नद छ ।”
हुन पनि फलेका सुन्तला बेच्न आफै कतै जानु पदैन । बरु सुन्तलाको मोलमोलाई गर्न सुन्तला धनी खोज्दै व्यापारी घरैमा आउँछन् । कुल प्रसादले गत वर्ष १२ लाखमा बगैचाबाटै सुन्तला बेचे । यसपालि भने मौसमले धोका दियो । सुन्तला १० लाख ७० हजारमा बेनीका सुवास थापाले किने ।
सुन्तला धनी र व्यापारीको कुरो मिलेपछि सुन्तला किनेका व्यापारीले बोटबाटै आफै सुन्तला टिपेर लैजान्छन् । वर्षभरि दुख गरेको सुन्तला बगैंचा सुन्तला टिपुन्जेल व्यापारीको हुन्छ । उनीहरु आफैले कामदार ल्याउने । सुन्तला टिप्ने र बजार लैजाने काम गर्छन् ।
“छोराहरुलाई यहिं सुन्तला बेचेरै पढाए । बाहिर देश पुगे । खेती र दाम राम्रो छ । पहिलेको भन्दा कमाई र खेती त राम्रो हो” कँडेलले भने “स्थानीय सरकारले प्राविधिक सहयोग केहि गरेको छ । तर अब यसमा पनि कर लगाउने रे ! पहिला किसानलाई चाहिएको प्रविधि, औषधी, ज्ञान सिप, नयाँ नयाँ तरिका पनि त सिकाउन प¥यो” उनले भने ।
‘‘खेती अनुसार आम्दानी छ’’ कुलप्रसाद भने । तर सरोकारवालाबाट किसानले सोचेअनुसार सहयोग छैन । गाँउमा मान्छै छैन्न् । यहाँका प्रायः घरमा बुढाबुढी मात्रै छन् । पहिला गाउँमा काम गर्न सक्ने वातावरण बनाउनुप¥यो । गाउँ छोड्ने अवस्था आउन दिनुभएन’’ उनले भने ।
भान्सा भेडी खाल्टाबाट सिता कँडेल २०५२ सालमा विवाह गरि काठेखोला गाँउपालिका ६ किम्बोट आउँदा सुन्तालाका केहि बोट घर वरपर थिए । अहिले आफ्नो घरको सुन्तला बगैंचामा काम गर्ने कामदार खोज्न भिमपोखरातिर जानुपर्छ ।
“गाउँमा काम गर्ने मान्छे नै छैन । सबै वरपरका घरमा बुढाबुढी मात्रै छन् । यति ठुलो बगैंचामा बुढाबुढीले मात्रै काम गरेर हुन्न । काम गर्ने मान्छे भिमपोखराबाट ल्याउनुपर्छ ।” उनले भनिन् “एक सय हाराहारी काम गर्ने मान्छे चाहिन्छ ।”
कँडेल दम्पतीको सुन्तला बगैंचा मात्र हैन । दुईवटा गाईं र भैंसी पनि छन् । दुध र दुधजन्य परिकार बेचेर मासिक ३० हजार त त्यताबाट पनि आम्दानी हुन्छ । बगैंचामा चाहिने मल त्यसैबाट बन्छ । उनीहरुले भने सम्भावना गाउँमै छ भन्छन् । ‘‘बाहिर जस्तै दुख आफ्नै ठाउँमा गर्न सक्नुप¥यो । सरकारले आवश्यक्ता चिनेर सहयोग गर्नुपर्छ । अनि व्यापारीले किसानको दुख बुझे मात्रै किसानले खुसी भएर दुख गर्न सक्छन्’’ कँडेल भन्छन् ।





