म्याग्दी/ नेपाली भाषा शिक्षक परिषद् म्याग्दीको आयोजनामा सम्पन्न बक्तृत्वकला प्रतियोगितामा बेनी नगरपालिका ४ को म्याग्दी ऐकेडेमीकी बिअप्सना बानियाँ पहिलो भएकी छन् । राष्ट्र निर्माणमा स्थानीय तहको भूमिका विषयक म्याग्दी जिल्लास्तरीय वक्तृत्व कलामा बानियाँ पहिलो भएकी हुन् ।
१८ विद्यालयले भाग लिएको प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बेनीका प्रसिस रिजाल दोश्रो, जनप्रिय माध्यमिक विद्यालय दरवाङका गित सिर्पाली तेश्रो र कैला माध्यमिक विद्यालय दोवाका अनुसा पुर्जाले सान्त्वना स्थान हासिल गरे । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना हुनेले क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार रुपियाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेको नेपाली भाषा परिषद्का अध्यक्ष रमेश प्रसाद पौडेलले जानकारी दिए ।
कार्यक्रमको उद्घाटनमा बेनी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले विद्यार्थीमा भएको प्रतिभा प्रष्फुटन गर्नका लागि यस्ता प्रतियोगिताहरु हुनु पर्नेमा जोड दिए । उनले स्थानीय तहको भूमिका विषयमा विद्यार्थीले दिएको प्रस्तुतीले उनीहरुको ज्ञानको गुणस्तर झल्कीएकोले यस्ता खालका प्रतियोगिताको निरन्तरता दिनु पर्ने बताए ।
बेनी नगरपालिका ४ सिंगाका वडा अध्यक्ष तथा धवलागिरी माध्यमिक विद्यालय सिंगाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अणबहादुर खड्काले स्थानीय तहको बारेमा विद्यार्थीहरुको ज्ञानले समृद्ध नेपालका लागि उनीहरुको भूमिका राम्रो देखिएको जनाए । वर्तमान अवस्थामा आफ्नो स्थानीय सरकारको ज्ञान विद्यार्थीहरुलाई दिनका लागि पनि यस्तो कार्यक्रम महत्वपूर्ण हुने उनले बताए ।
विद्यालयका पूर्व प्रधानाध्यापक दण्डपाणी सापकोटाले स्वागत गर्नुभएको कार्यक्रमकै अवसरमा विद्यालयले प्रकाशन गर्दै आएको भित्तेपत्रिका जुनकिरीको अंक १० बिमोचन समेत गरिएको थियो ।




