पोखरा/मनाङमस्र्याङ्दी क्लब २५ औं आहा रारा पोखरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित फुटबल स्टेडियममा सोमबार थन्डरबोल्ट नर्थ युनाइटेडलाई १–० ले हराउँदै मनाङमस्र्याङदी सेमीफाइनलमा प्रवेश गरेको हो ।
मनाङको जितमा आषिश श्रेष्ठ नायक बने । उनले खेलको १०५ औं मिनेटमा थप गरिएको अतिरिक्त एक मिनेटमा गोल गरे । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा रोकिएको थियो । थप गरिएको अतिरिक्त ३० मिनेटको पहिलो हाफको इन्ज्युरी समयमा मनाङले अग्रता बनाएको हो । आन्द्रे व्योयमोहाको क्रसमा आशिषले हेड गरेको बलले जाली चुमेको थियो ।
जितसंगै अब मनाङले सेमीफाइनलमा आयोजक सहारा क्लबको सामना गर्नेछ । यस्तै प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा उज्वेकिस्तानी टोली आभा फुटबल क्लब र प्लानिङ ब्वाइजबीच हुनेछ ।





