पोखरा/शंकर भण्डारी हिन्दुराज्य र संवैधानिक राजतन्त्रको वकालत गर्ने कांग्रेसी नेता हुन् । तनहुँकै ध्रुव वाग्ले विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिँदा शंकरले चाहिँ त्यता जान खोजेनन् । तर, आफ्नो अडान र जनाधारका दृष्टिले बलियो ठानिएका शंकरलाई नयाँ कांग्रेसले पनि पत्यायो । शंकर बदलिएको कांग्रेसको तर्फबाट तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार चुनिए । निवर्तमान सांसदसमेत रहेका शंकरमाथि यतिबेला अघिल्लो चुनावको परिणाम जोगाउने र आफूलाई प्रमाणित गर्ने चुनौती छ ।
र, त्यसका निम्ति उनका केही स्वभावहरु सहायक देखिएका छन् । कुनै बेला कांग्रेसका शक्तिशाली खुमबहादुर खड्का समूहमा रहेका यी नेतासमस्या लिएर आउनेहरुलाई निरास बनाउँदैनन्, परिआए मैदानमै उत्रिएर भरोसा दिन्छन् । २०३८ सालतिर नेपाल विद्यार्थी संघको राजनीति थालेका भण्डारी २०४९ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति तथा २०५४ सालमा तरुण दलको केन्द्रीय सदस्य बनेका थिए। तीनपटक कांग्रेसको केन्द्रीय सदस्य एवं २०७३ सालमा प्रचण्ड नेतृत्व सरकारमा वनमन्त्री बनेका भण्डारीलाई जनता के चाहन्छन् भन्ने पनि थाहा छ । उनी मीठो बोल्छन्, तत्काल समस्याको संवोधन गर्ने प्रयत्न गर्छन् र विपक्षीमाथि कडा रवैया अपनाउन पनि पछि पर्दैनन् ।
त्यही स्वभावका कारण उनले २०७९ को चुनावमा एमालेका शक्तिशाली नेता किरण गुरुङलाई सहजै हराएका थिए । माओवादीसहितको गठबन्धनबाट ३० हजार ६०४ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका किरण गुरुङले २५ हजार १३०, राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले ५ हजार ३७३, राप्रपाका नरेन्द्रप्रताप महतले १ हजार ४२१ मत प्राप्त गरेका थिए । समानुपातिकमा चाहिँ सो क्षेत्रबाट कांग्रेसले २२ हजार २६३ मतमात्र ल्याएको थियो । एमालेले २२ हजार ८०४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार १२९ मत पाएको थियो ।यस्तै माओवादी केन्द्रले ५ हजार २४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७३४ मत पाएका थिए । समानुपातिक मत परिणाम हेर्दा त्यहाँ योपटक सुरक्षित देखिँदैनन् । किनकि,कांग्रेस योपटक एक्लै चुनावी मैदानमा छ । हिजो गठबन्धनमा रहेको माओवादी र नेकपा एकीकृत समाजवादीको मत योपटक उनलाई प्राप्त हुने छैन ।
भण्डारीसँगै यो क्षेत्रमा एमालेबाट केदार सिग्देल, नेपाली कम्युनिष्ट पार्टीबाट सोमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रीराम न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर गोतामे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यमबहादुर ठकुरी, नेपाल जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल अर्गनाइजेसनबाट सुष्मा आले, नेसनल रिपब्लिक नेपालबाट नमबहादुर राना, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मण अधिकारी र नेकपा (माओवादी) बाट गणेशबहादुर लामगादे प्रतिस्पर्धामा छन् । म्याग्दे,ऋषिङ र घिरिङ गाउँपालिका, शुक्लागण्डकी, भिमाद र व्यास नगरपालिकाको वडा नम्बर ५ र ६ समेटिएको यो क्षेत्रमा २ मा एक लाख २७ हजार ५१५ मतदाता छन् ।
जेन–जी आन्दोलनपछि फेरिएको नेपाली मनहरुबीच पनि शंकर चाहिँ आफू निर्वाचित हुनेमा ढुक्क छन् । यसअघि सांसदको रुपमा र त्यसअघि नेताको रुपमा जनताका समस्या समाधान गरेकाले आफू विजयी हुने उनले बताउँदै आएका छन् । चुनावी अभियानको क्रममा पनि उनले हिन्दुराज्य र राजासहितको लोकतन्त्रको नारा छाडेका छैनन् । यो नाराका कारण पाका पुस्ता र अन्य दलमा रहेका त्यही विचार राख्नेको मत आफूलाई प्राप्त हुने उनको जिरिक छ । यसअघि कम्युनिष्टको किल्ला मानिने सो क्षेत्रमा अहिले एमालेले केदार सिग्देललाई नै उम्मेदवार बनाएको छ । २०७४ सालको चुनाव जितेका सिग्देलले टिकट पाउँदा एमालेभित्र देखिएको असन्तुष्टिले पनि शंकर सजिलो अवस्थामा रहेको उनी निकट नेताहरु बताउँछन् ।
चुनावी इतिहास हेर्ने हो भने, सो क्षेत्रबाट २०४८ मा एमालेका किरण गुरुङ, २०५१ मा नेपाली कांग्रेसका अमरराज कैनी, २०५६ सालमा एमालेका टुकराज सिग्देल, २०६४ पुनः एमालेका किरण गुरुङ, २०७० मा एमालेकै टुकराज सिग्देलले चुनाव जितेका थिए । लामो समय त्यहाँबाट सांसद बनेका एमालेका नेताहरुले विकास निर्माणमा ध्यान नदिएको दोष पाउँदा अघिल्लो चुनाव शंकरको पक्षमा गयो । अघिल्लोपटक टिकट पाएका किरणलाई योपटक एमालेले पत्याएन । किरण एमालेको ११ औं महाधिवेशनमा पदाधिकारीका आकांक्षी थिए तर उनलाई त्यो अवसर दिइएन । एमाले स्रोतका अनुसार अहिले उनी त्यति धेरै उत्साही छैनन् । त्यसको असर एमाले उम्मेदवार केदारलाई पर्न सक्छ ।
तर, एमालेका नेता केदार उत्साही सुनिन्छन् । कम्युनिष्ट विचारधाराबाट प्रभावित जनताले अहिलेको अवस्थामा एमालेलाई नै रोज्ने र राष्ट्रियताप्रतिको एमालेको दृष्टिकोणबाट पनि आफूलाई फाइदा हुने उनले चुनावी अभियानको क्रममा बताउँदै आएका छन् ।





