बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

व्यक्ति वा संस्थाको पहिचान कसरी बन्छ ?

व्यक्ति वा संस्थाको पहिचान कसरी बन्छ ?

मरुभूमिको बलौटे जमिनमा टाढाबाट हेर्दा पानीको तालजस्तो देखिन्छ, तर नजिक पुग्दा त्यहाँ कुनै पानी हुँदैन् । त्यो केवल टाढाबाट हेर्दा देखिने जलको भ्रम मात्र हो ।


  • गोविन्द पहाडी
  • फाल्गुन ९ २०८२, शनिबार

वृहत नेपाली शब्दकोषले “पहिचान भनेको कुनै वस्तुको गुण, मुल्य आदि जान्ने काम, पारख” भनेर परिभाषित गरेको छ । त्यस्तै पहिचानलाई ”चिन्ने तरिका, परिचय, जाँचबुझ“ भनेर पनि व्याख्या गरिएको छ । संसारमा सर्वगुण सम्पन्न व्यक्ति कोही पनि छैन् । प्रत्येक मानिसमा राम्रा गुण र अवगुणहरु निहित हुन्छन् । त्यसो भए गुण र अवगुण सहितको व्यक्तिको खास पहिचान कसरी जान्ने त ? कुनै पनि व्यक्तिलाई कस्तो व्यक्तित्वको रुपमा बुझ्ने त ? यदि व्यक्तिमा राम्रा गुणहरुको प्रचुरता छ ।

समाजले ठिक मानेका, अभ्यास र व्यवहारबाट असल मानिएका काम, शैली र दृष्टिकोणहरु बढि मात्रामा छन् र यसको तुलनामा समाजले नराम्रो मानेका, धेरैले नजाति ठानेका गुण र बानीहरु कम छन भने यस्तो व्यक्तिको पहिचान असल मानिन्छ । यसको ठिक विपरित समाजले मन नपराएका आनीवानी, स्वभाव, शैली र दृष्टिकोण बढि भएको र राम्रा पक्षहरु कम भएका व्यक्तिलाई असल व्यक्ति माँनिदैन् ।

व्यक्तिको पहिचानको कुनै गणितिय र सुत्रात्मक उत्तर हुँदैन तर राम्रा गुणहरु अधिकतम रहेका व्यक्तिलाई हामी असल व्यक्ति र नराम्रा गुणहरु अधिक भएको व्यक्तिलाई खराव भनेर मान्ने गर्दछौं । जसरी व्यक्ति, संस्था वा दल छनौट गर्न निर्वाचन प्रकृया अलवम्वन गर्दा धेरै मत प्राप्त गर्नेलाई विजयी घोषणा गरिन्छ त्यसै गरि पहिचान निर्धारणमा पनि गुण अवगुणको अधिकता र भारलाई मापनको आधार मान्न सकिन्छ ।

यतिबेला देशमा केहि व्यक्ति र संस्थाहरुको गुण, विशेषता के हो ? दृष्टिकोण के हो ? देख्न, जान्न र बुझ्न पाईएकै छैन् । उनीहरु स्वयम हामी ठिक मानिस, सहि संगठन हौ भन्ने दावी मात्र गरिरहेका छन् । तिमीहरुको लक्ष्य के हो ? देश, दुनिया, समाज र विकासलाई हेर्ने दृष्टिकोण के हो ? तिमैो विकास, समृद्धि, सामाजिक न्याय र मानवअधिकार वारेको धारणा के हो ? समाजलाई प्रगतिपथमा लैजान के काम गर्न चाहन्छौं ? तिम्रो नीति के हो ? तिम्रो कामको विधि के हो ? यी कुनै पनि प्रश्नको उत्तर दिन चाहन्नन् । मात्र भन्छन् : ”अरु सवै खराव छन्, हामी ठिक छौं, हामीलाई साथ दिनुस् ।” यो भ्रमको पछि लाग्नु मृगतृष्णा ठहरिनेछ । जसरी मरुभूमिको बलौटे जमिनमा टाढाबाट हेर्दा पानीको तालजस्तो देखिन्छ, तर नजिक पुग्दा त्यहाँ कुनै पानी हुँदैन् । त्यो केवल टाढाबाट हेर्दा देखिने जलको भ्रम मात्र हो ।

पहिचान दावीले बन्ने हैन् । पहिचान खास उमेर समुहका आधारमा, शिक्षा, धनसम्पत्ती, रवाफ वा दर्शन र दृष्टिकोणको आधारमा विकास हुने कुरा पनि हैन् । पहिचान समाज, नागरिकले बुझने, महसुस गर्ने कुरा हो । कुनै पनि व्यक्ति र संस्था प्रतिको समाजको धारणा, बुझाई, विश्लेषण र निष्कर्ष नै पहिचान हो । सामाजिक सञ्जाल मार्फत प्रचारित सामाग्री, जनताका मनमा रहेका प्रश्न र आशाहरुलाई सुन्दर तरिकाले प्रस्तुत गरेर भावनाको ब्याल्कमेलिङ गर्ने तरिकाबाट बनेको पहिचान क्षणिक लोकप्रियतावाद मात्र हुन्छ । समाजले गुण र अवगुण जान्न पाएकै छैन् । सहि पक्ष र गलत पक्षको हिसाव किताव नगरि कसरी तिनको पहिचान बन्छ र ?

त्यसैले ज्ञानका ५ ईन्द्रिय (ज्ञानेन्द्रिय) उपयोग गरेर वास्तविकतालाई नबुझी कुनै पनि व्यक्ति वा संस्थाको पहिचान वारे भन्न सकिन्न । पछिल्ला दिनहरुमा सुनेको तथा सामाजिक सञ्जालमा पस्किएका सामाग्री हेरेको आधारमा आम पङ्ती भ्रमित हुने जोजिम बढेको छ । कानले सुनेको कुरा सहि नहुन सक्छ । आँखाले देखेको कुरा पनि सत्य नहुन सक्छ । वस्तु वा व्यक्तिका गुण अवगुणहरु छामेर, ओल्टाई पल्टाई गरेर कोट्याएर हेरौं । कुनै पनि चिज तातो चिसो के छ छामेर जान्न सकिन्छ । बाहिर हेर्दा अनुमान गरिए अनुसारको गुण विद्यमान छन् त ? जसरी कुनै खानेकुरा मिठो नमिठो, गुलियो अमिलो पत्ता लगाउन जिव्रो आवश्यक पर्दछ , त्यस्तै सुगन्ध र दुर्गन्ध जान्नका लागि नाकले सुँघ्नुपर्दछ ।

यहि तरिकाले हरेक व्यक्ति, ऊ संलग्न संगठनका गुण र अवगुण पत्ता लगाउनु पर्छ र त्यसका आधारमा दृष्टिकोण बनाउनुपर्छ । समाजका विषय, जनताका चाहना र भावना तथा अन्य व्यक्ति, संस्था वा दलका वारेमा नाटकीय तरिकाले, प्रविधि उपयोग गरेर साँच्चिकै हो की जस्तो पारेर विभिन्न अडियो, भिडियो तथा अन्य सामग्रीहरु पस्किएको हुन सक्छ । आग्रह, पुर्वाग्रह तथा आफनो स्वार्थपूर्तिका लागि सत्यलाई असत्य र गलतलाई सहि सावित गर्ने रणनीति हुन सक्छ ।

यस्तो काममा संलग्नहरुले गोयवल्स शैलीमा सत्यलाई ढाकेर असत्यलाई सत्य प्रमाणित गर्न खोजिरहेका हुन्छन्, गलत तरिका अवलम्वन गरिरहेका हुन्छन् । त्यहि सामाग्रीलाई आधार बनाएर आम नागरिकले विषय बुझ्ने परिस्थिती बन्यो भने त्यो झन ठुलो गल्ति हुन्छ । त्यसैले सत्य र भ्रम विचको अन्तर जान्ने पर्दछ । अन्यथा मरुभूमिमा पानी पिउन हिंडेको मृगले अलि टाढा पानी देखेर कुदेको तर त्यहाँ जाँदा पानी नभेटेको र त्यहाँबाट अलि पर हेर्दा फेरि पानी देखेर त्यहाँ पुग्दा त्यहाँ पनि पानी नभेटेको जस्तो हुनेछ ।

त्यसैले मिडियामा देखेको, सुनेका आधारमा मात्र हैन्, आँफलै महसुस गरेर, आवश्यता अनुसार छामेर, खाएर, ओल्टाई पल्टाई गरेर आफनै विवेक र बुद्धि प्रयोग गरेर सत्य पहिचान गर्नुपर्छ । हल्लाले बनेको पहिचान, स्टनवाजी गरेर जवरजस्त बनाउन खोजिएको नक्कली पहिचानको यथार्थ बुझ्नुपर्छ । हावा हुरी र हुण्डरी कहिलेकाँही आउँछ र केहि क्षति पुराएर जान सक्छ तर पुनः फेरि मौसम वा वायुमण्डलको सन्तुलन पुरानै लयमा अवश्य फर्किन्छ । त्यसैले विषय, व्यक्ति वा संस्थाको गुण अवगुणको वारेमा सत्य तथ्य बुझौं, मरुभूमिको मृग नबनौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->