बागलुङ/कच्ची छउन्जेल चलेको बलेवा एयरपोर्ट अहिले कालोपत्रे भएको साँढे चार वर्ष भयो अलपत्र छ । पोखरा बागलुङ सडक खुलेपछि बन्द भएको यो विमानस्थल २०७४ मा केही समय कच्ची धावनमार्गमै चलेको थियो । पक्की भएपछि ठप्प छ ।
२०७८ को वैशाखमा कालोपत्रे गरिएपछि यो विमानस्थलमा तारबार लगाएर छाडिएको छ । तर, संचालनमा आएको छैन । गत २०७९ को संसदीय निर्वाचनमा अधिकांश उम्मेदवारको बलेवा बिमानस्थल संचालन गर्ने एजेण्डा थियो । तर, अहिले यो नारा हराएको छ । । नेताहरुले यो एजेण्डा पनि बनाएका छैनन् ।
अहिले यो विमानस्थल कांडेतारले घेरेर राखिएको छ । स्थानीय कालोपत्र विमानस्थल कहिले संचालनमा आउँला भनेर प्रश्न गर्छन् । तर, त्यसको उत्तर यो पटकका उमेदवारसँग छैन । बरु यो पटक विमानस्थलबारे दलको एजेण्डा नै बनेको छैन । स्थानीय भने करोडौं खर्चेर बनाएको विमानस्थल संचालनमा आउनुपर्ने बताउँछन् ।
पोखरा–बागलुङ सडक खुल्नुअघि २०२२ सालदेखि २०५० सम्म बलेवा विमानस्थलमा नियमित जहाज चल्थ्यो । कच्ची विमानस्थल भएपनि खचाखच यात्री हुन्थे । सातामा तीन दिनसम्म जहाज चल्दा पोखरा, भैरहवा र काठमाडौंका यात्रु यात्रा गर्थे । जहाँबाट यात्रा गर्न तत्कालिन सिडिओको फोर्स चल्थ्यो । ‘नियमित टिकट पाउने थोरै थिए,सिडिओको सिफारिसमा बिरामी, अशक्तलाई टिकट काटिन्थ्यो,’ स्थानीय कमल जिसीले भने, ‘एकदुई दिनअघि नै टिकट काटेर बस्ने अवस्था थियो ।’
अहिले भने यो विमानस्थल अलपत्र छ । चार वर्षअघि कालोपत्रे गरिएको यो विमानस्थलमा रंगरोगन गरेपछि एउटा पनि जहाज आएको छैन । वरिपरिको मैदानमा काँस फुलेको छ भने कालोपत्रेसमेत जीर्ण जस्तो भैसकेको छ । पोखरा सडक खुलेपछि बलेवामा जहाज पातलिंदै बन्द भएको बिमानस्थलबाट बागलुङ, पर्वत र म्याग्दीका बासिन्दाले सेवा पाएका थिए ।
२०७८ मा विमानस्थल कालोपत्रे गरिएपछि यहाँ एकपटक पनि जहाज आएको छैन । विमानस्थल संचालनमा कसैले पनि चासो समेत गरेका छैनन् । ‘काष्ठमण्डप उमा एण्ड संयुक्त निर्माण कम्पनी’ २०७८ को वैशाखमा ८ करोड २४ लाख ३४ हजार रुपैयाँको लागतमा बलेवा विमानस्थल कालोपत्रे गरेको थियो । अन्दाजी ७ सय मीटर लम्बाइ कालोपत्रेसहित १ हजार १ सय मिटर लामो मैदान ग्राभेल गरिएको छ । ३० मिटर चौडा मैदानमा तारबारले घेरिएको छ । टर्मिनल भवन मर्मत गरेर रंगरोगन लगाएपछि जहाज उडाउने पहल भने नभएको हो ।
बागलुङ नगरपालिका–१४ को नारायणस्थानस्थित बलेवा विमानस्थलको घेराबारमा यतिबेला खिया लागिसकेको छ । वडाध्यक्ष चक्रबहादुर खत्री भने भएको सम्पत्ति जीर्ण भैरहेकोमा दुःख लागेको बताउँछन् । ‘जहाजको आसमा बसिरहेका छौं, नियमित नचल्ने हो भने यो स्थानको उपयोगिताको विकल्प खोजौं,’उनले भने, ‘हवाइसम्बन्धी धेरै क्रियकलाप संचालन गरेर भएपनि यो विमानस्थल संरक्षण गर्नुपर्छ ।’
बलेवा विमानस्थलको काम हेर्ने पोखरा विमानस्थललाई यसबारे जानकारी नै छैन । जहाज पठाउने नपठाउने अधिकार केन्द्रीय कार्यालय र महानिर्देशकका निहित भएकोले पोखराका कर्मचारीले केही बताउन सकेनन् । २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयले श्रमदान गरेर यो विमानस्थल बनाएका थिए ।
सदरमुकामदेखि बलेवा तर्फको ८ किमी सडक कालोपत्रे तयारी छ । सडक सहज भएमा हवाइजहाज संचालनको पहल गर्ने बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बताउँछन् । स्थानीयले भने हवाइ भाडा सहज भएमा मात्र यात्रीहरु बढ्ने बताउँछन् । बन्द भएको तीस वर्षसम्म पनि स्थानीय सबिता रोका यो विमानस्थलको हेरालो छन् । उनले नियमित तलब खादै आएकी छन् ।





