शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

साम्बाको पीडा र फुटबलको घट्दो क्रेज

साम्बाको पीडा र फुटबलको घट्दो क्रेज

दर्शकको खडेरी किन भयो भन्नेबारे न एन्फा न खेलप्रेमीले ध्यान दिएका छन्


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०८२, बुधबार

पोखरा/२५ वर्ष अगाडिको कुरा हो,सहारा क्लबले पहिलोपटक क्याराभान गोल्डकप आयोजना गर्दै थियो । पोखरा रंगशाला पर्खालले घेरिएकै थिएन । अहिलेजस्तो पूर्वाधारको कुरै छाडौँ । रंगशाला झण्डै ढुंगे मैदान थियो । २०५८ साल फागुन २० गते प्रतियोगिताको फाइनल थियो । सहारा क्लबका संस्थापक अध्यक्ष विक्रम थकाली सम्झन्छन्,‘रंगशालाको एउटा कुनामा प्यारापिट थियो तर मैदानको एउटा छेउबाट हेर्दा खुट्टा राख्ने ठाउँ थिएन । दर्शकहरु वरपरको चौरमा पलेटी मारेर बसेका थिए । मनाङ मस्र्याङ्दी र नेपाल पुुलिस क्लबबीचको खेलमा २–१ प्रहरी भाग्यमानी सावित भयो । हामी चाहिँ त्यति धेरै दर्शकको व्यवस्थापन गर्न सकेकोमा मख्ख भयौँ ।’

विक्रम सही छन् । मोफसलको पहिलो व्यावासायिक आहा ! रारा फुटबल प्रतियोगिताको सबैभन्दा सुन्दर पक्ष नै फुटबलप्रेमी दर्शक थिए । प्रतियोगिता सुरुदेखि अन्त्यसम्म आफूलाई मन परेको टिमको पक्षमा लाग्ने त्यो दर्शककै कारण आहा ! रारा गोल्डकपले २५ औं संस्करण सफलतासाथ सम्पन्न गरेको छ । पुरस्कारको राशीमा भारी बृद्धि भएको छ । विधागत पुरस्कार पनि उत्तिकै छन् । अहिले पोखरा रंगशाला क्याराभान सुरु गर्दाको जस्तो पनि छैन । आधुनिक प्यारापिट र आरामदायी कुर्सी थपिएका छन् । योपटकको संस्करणमा त आयोजक सहाराले रातको समयमा समेत फुटबल खेलाउने प्रयास ग¥यो । तर,पछिल्ला संस्करणको फुटबल प्रतियोगितामा दर्शकको संख्यामा भने उल्लेख्य कमी आएको आयोजक सहाराकै पदाधिकारीहरुले स्वीकारेका छन् । आहा !रारा गोल्डकपमा मात्र हैन, देशमा एन्फा ए डिभिजन लिगदेखि मोफसलमै आयोजना हुने अन्य प्रतियोगितामा पनि दर्शकको उपस्थिति निराशाजनक छ ।

आखिर किन ?
खेलाडी तथा अफिसियल डीबी नेपालीको शब्द सापट लिने हो भने अहिले नेपाली फुटबलमा दर्शक तान्ने स्टार खेलाडीको अभाव छ ।

‘रंगशालामा क्याराभान गोल्डकप सुरु भयो । त्यो बेला पुलिस क्लबका देवनारायण चौधरीको हेडिङ खुब चर्चामा थियो । रेडियो नेपालले पनि उनले गर्ने हेडिङको समाचार बनाउँथ्यो । हामी देवनारायण कस्ता होलान् र उनको हेड कस्तो होला भन्ने व्यग्र प्रतीक्षामा थियौँ,’उनले ती दिन सम्झँदै भने,‘दर्शकहरु कि क्लबको मायाले आउँछन् कि खेल हेर्न आउँछन् । अहिले हामीसँग दर्शकको जिब्रोमा नाम झुण्डिएका खेलाडीको अभाव भएको हो कि भन्ने लाग्छ ।’

हो, कुनैबेला आहा रारा गोल्डकपमा पोखराकै विनोद गौचन,अनिल गुरुङ,विष्णु गुरुङहरु सहभागी हुन्थे । पोखरेली भएको नाताले उनीहरु संलग्न क्लबले स्वतः समर्थन पाउँथ्यो । त्यसका अलावा हाल राष्ट्रिय टिमका कोच रहेका हरि खड्काहरु पनि यो मैदानमा उम्दा प्रदर्शन गर्थे । अहिलेको भाषामा भन्दा यी खेलाडीहरुको फ्यान फलोइङ र क्रेज असाध्यै थियो । दर्शकलाई ती खेलाडीले मैदानसम्म तान्थे । खेल पत्रकार केशव पाठकको भनाइलाई आधार मान्ने हो भने अहिले त्यस्तो छैन ।

‘अस्तिको आहा रारामा खेलेका खेलाडीमध्ये केहीमात्र दर्शकले चिन्ने थिए । नेपाली फुटबलको एउटा पुस्ता विदेशिएको छ । नयाँ खेलाडी पनि खुट्टा उचालेर बसेका छन् । नेपाली फुटबलमा नेतृत्वदेखि खेलाडीसम्म स्टारडमको अभाव छ,’उनी भन्छन् ।

नेपाली फुटबलमा रियल मेड्रिड र फ्रान्सका फरवार्ड केलियन एम्बापे, बार्सिलोना र स्पेनका लामिनी यामल, इंग्ल्याण्डका ह्यारी केन,म्यान सिटी अनि हल्याण्डका अर्लिङ हालाण्ड, बार्सिलोनाका पेड्री, लिभरपुलका सलाह, आर्सनलका डिक्लान, मेसी, रोनाल्डो, बुक्याओ साकाजस्ता खेलाडी छैनन् ।

तर, भएका किरण चेम्जोङ, अशिषेक लिम्बू, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, जिलेप्सीजंग कार्की, कृतिषरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू र मणिकुमार लामादेखि मनिष डांगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सिर्जनराज गौत्तम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम र योगेश गुरुङ, विशाल सुनार र दीप कार्कीजस्ता खेलाडीहरुको प्रवद्र्धन पनि हुन सकेको छैन । फुटबल धानेका यी हस्तीहरु पनि कतिबेला विदेशिने हुन् भन्ने यकीन नहुँदा साँच्चिकै नेपाली फुटबल थला परेको छ । त्यसको प्रभाव मैदानमा देखिएको छ ।

अर्का खेल पत्रकार धन बस्नेत चाहिँ नेपाली फुटबलको क्रेज खस्कनुमा प्रवद्र्धनको कमीलाई कारक मान्छन् । फुटबल खेलाडीलाई एक्सपोज दिने,उनीहरुको भविष्य सुरक्षित नगर्ने हो भने मैदानमा दर्शक खाली नै रहने र युवा पंक्ति काँचको पर्दामा च्याम्पियन्स लिग र ला लिगमै झुम्मिने अवस्था कायमै रहने उनको भनाइ छ ।

‘फुटबल कौशलसहितको जोखिमपूर्ण खेल हो, नेपाली महिला फुटबल टोलीकी हस्ती साम्बा (सावित्रा भण्डारी) अहिले आफ्नो घुडाको चोटबाट मुक्ति पाउनका निम्ति आवश्यक पर्ने शल्यक्रियाको लागि सार्वजनिक याचना गरिरहेकी छन्,’बस्नेत भन्छन्,‘नाम चलेका र राष्ट्रलाई योगदान दिएका खेलाडीको त यो हाल छ भने अरुको के होला ? यस्ता प्रवृत्तिले नयाँ स्टार जन्माउँदैन र दर्शकलाई मैदानसम्म डोहो¥याउँदैन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->