बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ढोरपाटनमा दादुरा प्रकोप : जनस्वास्थ्यमा चुनौती

ढोरपाटनमा दादुरा प्रकोप : जनस्वास्थ्यमा चुनौती

ढोरपाटनको यो घटना हामी सबैका लागि एउटा स्पष्ट सन्देश के हो भने संक्रामक रोगको जोखिम कहिल्यै पूर्ण रूपमा समाप्त हुँदैन । त्यसैले सतर्कता, खोपको पहुँच र जनस्वास्थ्य प्रणालीको मजबुती नै भविष्यमा यस्ता प्रकोप रोक्ने सबैभन्दा प्रभावकारी उपाय हुन् ।


  • Dhorpatan News
  • फाल्गुन २७ २०८२, बुधबार

बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा पछिल्ला दिनमा देखिएको दादुराको संक्रमणले स्थानीय समुदाय मात्र होइन, सम्पूर्ण जनस्वास्थ्य प्रणालीलाई सचेत बनाएको छ। वडा नं. ७, ८ र ९ का बालबालिकामा संक्रमण पुष्टि भएपछि नगरपालिकाले बुधवारसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । एक दशकभन्दा बढी समयसम्म जिल्लामा दादुराको प्रकोप नदेखिएको अवस्थामा अचानक संक्रमण फैलिनु जनस्वास्थ्य व्यवस्थापनका लागि गम्भीर चेतावनीको संकेतका रुपमा लिन सकिन्छ ।

प्रारम्भिक अनुसन्धानले यो संक्रमण बाहिरबाट आएको हुन सक्ने देखाएको छ। भारतबाट आएका एक बालक आफन्त भेट्न बोबाङ गाउँ पुगेपछि संक्रमण फैलिएको आशंका गरिएको छ । उक्त बालक निसीखोला क्षेत्रमा बिरामी परेको र त्यसपछि बोबाङमा सम्पर्कमा आएका बालबालिकामा संक्रमण फैलिएको अनुमान गरिएको छ । यसले सीमापार आवतजावत र संक्रामक रोगबीचको सम्बन्धलाई फेरि एकपटक उजागर गरेको छ ।

ढोरपाटन क्षेत्रमा देखिएको दादुरा प्रकोपले अर्को महत्वपूर्ण प्रश्न पनि उठाएको छ । खोपको पहुँच र प्रयोग कति प्रभावकारी छ? विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको प्रोटोकल अनुसार बालबालिकाले १५ महिनाभित्र दादुरा–रुबेला खोप लगाइसक्नुपर्ने हुन्छ । तर घुम्ती बस्ती, दुर्गम भौगोलिक अवस्था, जनचेतनाको कमी वा खोप सेवा नियमित नपुग्नु जस्ता कारणले कतिपय बालबालिका खोपबाट वञ्चित हुने सम्भावना देखिन्छ । अहिले संक्रमित देखिएका अधिकांश १० देखि २० वर्ष उमेर समूहका हुनु यस विषयमा थप अध्ययन आवश्यक रहेको छ ।

सकारात्मक पक्ष के भने स्थानीय स्वास्थ्य संस्था, प्रदेश जनस्वास्थ्य कार्यालय र चिकित्सक टोलीले तुरुन्तै सक्रियता भने देखाए । बिरामीलाई आइसोलेसनमा राखेर उपचार, आवश्यक औषधि र खोप व्यवस्थापन तथा फिल्डमै स्वास्थ्य सेवा सञ्चालन जस्ता प्रयास सुरु भइसकेका छन् । यस्ता समन्वित प्रयासले संक्रमण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।

तर यो घटना केवल तत्कालीन नियन्त्रणको विषय मात्र होइन। यसले दीर्घकालीन जनस्वास्थ्य व्यवस्थापनमा सुधारको आवश्यकता पनि देखाएको छ । विशेष गरी दुर्गम क्षेत्रमा खोप कार्यक्रमको नियमितता, समुदायमा स्वास्थ्य सचेतना, रोगको निगरानी प्रणाली तथा सीमापार स्वास्थ्य सुरक्षालाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता स्पष्ट भएको छ ।

नेपालले दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको अवस्थामा यस्तो प्रकोप देखिनु चिन्ताजनक अवश्य हो । तर यसलाई असफलता मात्र मान्नु उचित हुँदैन । बरु यो स्वास्थ्य प्रणालीलाई अझ सुदृढ बनाउने अवसरका रूपमा लिनु आवश्यक छ । समयमै प्रभावकारी नियन्त्रण, खोप कार्यक्रमको पुनः सुदृढीकरण र समुदायको सक्रिय सहभागिताबाट मात्र यस्ता संक्रमणलाई पुनः फैलिन नदिने आधार तयार गर्न सकिन्छ ।

ढोरपाटनको यो घटना हामी सबैका लागि एउटा स्पष्ट सन्देश के हो भने संक्रामक रोगको जोखिम कहिल्यै पूर्ण रूपमा समाप्त हुँदैन । त्यसैले सतर्कता, खोपको पहुँच र जनस्वास्थ्य प्रणालीको मजबुती नै भविष्यमा यस्ता प्रकोप रोक्ने सबैभन्दा प्रभावकारी उपाय हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->