बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

परराष्ट्र नीतिमा चुक्नु हुँदैन

परराष्ट्र नीतिमा चुक्नु हुँदैन

बधाइ र शुभकामना सामान्य कुटनीति हो तर त्यसमा प्रयुक्त शब्द तथा उत्पन्न हुने भावहरुले मित्रराष्ट्रको चाहना प्रतिविम्बित गरेका हुन्छन् ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०८२, आइतबार

संसदको २ तिहाइ बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), सभापति रवि लामिछाने र प्रस्तावित प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र साहले देश–विदेशबाट बधाइ र शुभकामना प्राप्त गरिरहेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित मित्रराष्ट्रहरु चीन, अमेरिका, बेलायत, भुटानलगायतले बधाइसहित सहकार्यको प्रस्ताव गरेका छन् । बधाइ र शुभकामना सामान्य कुटनीति हो तर त्यसमा प्रयुक्त शब्द तथा उत्पन्न हुने भावहरुले मित्रराष्ट्रको चाहना प्रतिविम्बित गरेका हुन्छन् ।

भारत नेपालको सबैभन्दा नजिकको छिमेकीमात्र नभएर विकास साझेदार पनि हो । नेपालमा आउने हरेक सरकारका निम्ति भारतीय सहयोग र सद्भावको विशेष अर्थ रहन्छ/रहने गरेको छ । तीनतिर खुल्ला सीमा जोडिएकाले मात्र नभएर ठूलो व्यापार साझेदार भएकाले पनि उसका नेपालसँग पनि केही अपेक्षाहरु रहेकै हुन्छन् । भारत नेपाली भूमिबाट भारत विरोधी गतिविधि नहोस् भन्ने चाहन्छ । नेपाल अमूक देशको प्रभावमा नजाओस् भन्ने चाहना पनि भारतबाट बेलाबेला व्यक्त भइरहन्छ ।

भारतीय पक्षको आँखाबाट हेर्दा त्यसलाई अस्वभाविक मान्न मिल्दैन । हरेक राष्ट्रका आफ्ना चाहना र स्वार्थहरु हुन्छन् । व्यक्तिको जीवनमाजस्तै राष्ट्रको जीवनमा पनि सम्बन्धको क्रममा त्यस्ता चाहनाहरुलाई नजरअन्दाज गर्न मिल्दैन । झन,राष्ट्रको हकमा त पटक्कै मिल्दैन । देशको नेतृत्व लिनेले आफूलाई वा आफ्नो पार्टीको हितलाई हैन कि राष्ट्रलाई केन्द्रमा राख्ेर सम्बन्धहरु बिस्तार गर्नुपर्छ । राष्ट्रिय चाहना र आवश्यकता के हो, परराष्ट्र नीति कस्तो अंगिकार गर्ने र छिमेकीसँग कसरी कुन अवस्थासम्म सम्झौता गर्ने भन्नेमा सरकार प्रष्ट हुनुपर्छ । तर,यसअघिका सरकार वा सरकारमा जानेहरुले भारतसँगको सम्बन्ध गिजोलेको सुनिँदै र यदाकदा प्रकट हुँदै आएको विषय नै हो ।

आफ्नो सत्ता टिकाउन विदेशको सहारा खोज्ने वा सम्झौतापरस्त हुने प्रवृत्तिले राष्ट्रियताको जगेर्ना गर्दैन र कालान्तरमा त्यस्तो व्यक्ति अनि संस्थालाई कसैले पनि पत्याउँदैन । भारतीय प्रधानमन्त्रीले टेलिफोनमा बधाइ दिइरहँदा रास्वपाका नेता र भावी प्रधानमन्त्रीले यो कुरालाई हृदयमा राख्नुपर्छ । परराष्ट्र सम्बन्ध भनेको उत्तेजना,लहड वा स्वार्थले निर्देशित हैन कि राष्ट्रिय स्वाधिनता र आवश्यकताले निर्देशित गर्छ । भावी प्रधानमन्त्री बालेन साहबाट यसअघि गरिएका कतिपय टिप्पणीहरु कुटनीतिक परम्परालाई बिझाउने खालका थिए ।

प्रधानमन्त्रीको कुुर्सीमा पुग्दा चाहिँ उनी सधुारिनै र जिम्मेवार बन्नैपर्छ । नेपाल भूराजनीतिक दृृष्टिले संवेदनशील छ । यहाँ अर्को छिमेकी चीन र टाढाका अमेरिका र युरोपिनयन राष्ट्रको पनि उत्तिकै सहयोग अनि चासो छ । एउटाको नजिक हुँदा अर्कोको चित्त दुख्ने अवस्था नल्याउनेतर्फ पनि अबको सरकारले सोच्नैपर्छ । नेपालमा चर्को राष्ट्रवादको नारा बिक्छ तर त्यस्तो नारा उरालेरमात्र देश चलाउन सकिँदैन । विदेशी मित्रहरुसँग सम्बन्धको हात बढाउँदा आफ्नो एजेण्डामा दरिलो गरी टेक्ने र उनीहरुका असल स्वार्थहरुलाई संवोधन गरिदिने परराष्ट्र नीतिले मात्र नेपालको कल्याण गर्छ ।

यतिबेला मध्यपूर्व अशान्त छ । आशा गरौँ, युद्ध छिट्टै अन्त्य होस् । युद्ध लम्बिँदा त्यसले इन्धन आपूर्तिदेखि अर्थतन्त्रसम्ममा असर पु¥याउँदै छ । मध्यपूर्वमा रहेका नागरिकको सुरक्षाकै निम्ति पनि अन्य छिमेकीको सहयोग जरुरी छ । नागरिकमा अपेक्षाहरु चुलिएका छन् । ती चुलिएका अपेक्षा पूरा गर्न वैदेशिक लगानी अपरिहार्य छ । प्रविधिले विश्वलाई एउटा गाउँ बनाइदिएको छ तर शक्तिराष्ट्रहरुबीच उत्पन्न तनाबले उत्तिकै ध्रुविकरण पनि बढाएकै छ । यस्तोमा नेपालको नयाँ सरकारले आफूलाई तटस्थ राखोस्,कुनै खेमामा गएर हैन,देशको आवश्यकता हेरेर मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई अगाडि बढाओस् ।र,राष्ट्रिय हितका निम्ति दलहरुबीच परराष्ट्र नीतिमा एकमत कायम गराओस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->