बागलुङ / प्रतिनिधिसभाको समानुपातिकतर्फ समग्र गण्डकी प्रदेशले ६ जना सांसद पाउँदा बागलुङ जिल्लाले मात्रै ३ जना महिला सांसद प्राप्त गरेको छ । जिल्लामा दुई निर्वाचन क्षेत्र जितेको रास्वपाले समानुपातिकतर्फ १ जना महिला सांसद प्राप्त गरेको छ ।
रास्वपाले आदिवासी जनजातीबाट महिलातर्फ गंगा छन्त्यालको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । रास्वपाबाट बागलुङ-१ मा सुशिल खड्का र बागलुङ- २ मा शोम शर्मा विजयी भएका छन्। रास्वपाबाट बागलुङकी गंगासहित गण्डकीमा गोरखाबाट एलिजा गुरुङ सिफारिश भएकी छन् ।
समानुपातिकतर्फबाट बागलुङमा नेकपाबाट बलावती शर्मा र नेपाली कांग्रेसबाट रेनुका काउचा पनि निर्वाचन आयोगमा सिफारिश भएका छन् । शर्मा गण्डकी प्रदेशबाट नेकपाको एक मात्रै सांसद भएकी छन् । नेपाली कांग्रेसबाट गण्डकीमा काउचासहित ३ जना सांसद भएका छन् । कांग्रेसले प्रत्यक्षतर्फ मुस्ताङबाट योगेश गौचन र मनाङबाट टेकबहादुर गुरुङले जितेका छन् ।
नेकपा (एमाले)ले गण्डकीमा समानुपातिकतर्फ २ जना महिला सांसद सिफारिश गरेको छ । पार्टी सचिव स्याङजाकी पद्मा कुमारी अर्याल र अखिल नेपाल महिला संघका केन्द्रिय अध्यक्ष टुका भद्र हमाल खस आर्य महिला कोटाबाट सांसद बनेकी छन् ।
मतका आधारमा थ्रेस होल्ड कटाएका ६ वटा राजनीतिक दलबाट गण्डकीका ५५ जना उम्मेदवार समानुपातिक बन्दसूचीमा थिए । सबैभन्दा धेरै नेपाली कम्युनिस्ट पार्टीबाट १६ जना बन्दसूचीमा थिए ।
एमालेबाट १० जना, नेपाली कांग्रेसबाट ९ जना, रास्वपाका ८ जना, राप्रपा र श्रम संस्कृतिबाट ६/६ जना बन्दसूचीमा थिए । तर, निर्वाचित हुने बेलामा भने गण्डकीबाट ६ जना मात्रै परेका छन् । रास्वपा र एमालेबाट २/२ जना र अन्य ३ दलबाट १/१ जना मात्रै सांसद बनेका हुन् ।
समानुपातिक बन्द सूची बुझाउने बेलामै दलहरूले गण्डकीलाई खासै प्राथमिकता राखेका थिएनन् । तीन निर्वाचन क्षेत्र रहेको कास्कीबाट एक जना पनि समानुपातिक सांसद बनेका छैनन् । दुई निर्वाचन क्षेत्र रहेका तनहुँ र नवलपुरमा पनि सांसद छैनन् ।
अन्य प्रदेशका एकै जिल्लामा धेरै सांसद बन्दा गण्डकीका जिल्लाहरूबाट दलहरूले उम्मेदवार छनोट गर्दा पनि पछि पारेका छन् । प्रदेशका प्रत्यक्षतर्फ १८ सिटमा भने रास्वपाले १५ ठाउँमा जितेको छ । कांग्रेसले २ सिट जित्दा एक भने स्वतन्त्रले जिते ।
समानुपातिकबाट गण्डकीमा रास्वपाले ५ लाख २५ हजार ६ सय ३५ मत पाएको छ । कांग्रेसले २ लाख ७ हजार ३ सय ८७, एमालेले १ लाख ५२ हजार १ सय ८७ र नेकपाले ५७ हजार ८ सय ७६ मत पायो । राप्रपाले २३ हजार ५ सय ५७ मत पाउँदा श्रम संस्कृतिले १८ हजार ९ सय ९५ मत प्राप्त गरेको छ ।
मतका आधारमा हिसाब गर्दा रास्वपाले गण्डकीमा करिब ६ जना सांसद बनाउनुपर्ने हो । कांग्रेसले कम्तीमा २ स्थान दिनुपर्नेमा १ जना मात्रै समानुपातिबाट तानेको छ । एमालेले करिब २ सिट गण्डकीलाई दिनुपर्नेमा २ सिट नै दिएको छ ।





