पोखरा/पोखरामा यही चैत ५ देखि ७ गतेसम्म अन्तर्राष्ट्रियस्तरको प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । नेपाल हवाइ खेलकुद संस्था (ना) प्रतियोगिताको आयोजक हो ।
‘नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसीप’ को नाममा हुने यो २३ औं संस्करणको प्रतियोगिता हो । आयोजक संस्था नेपाल हवाइ खेलकुद संस्थाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार प्रतियोगितामा नेपालसहित हालसम्म ७ देशका करिब १०० जनाको सहभागिता रहने छ । प्रतियोगिता संयोजक सुनिल भट्टराईका अनुसार नेपालसहित भारत, चीन, साउदी अरेबिया,उज्बेकिस्तान, इटली र लेबनानका पाइलटहरू पनि प्रतियोगितामा सहभागी हुनेछन् । कोभिड १९ को महामारीपछि यो प्रतियोगिता संचालन हुन सकेको थिएन ।
नेपाल हवाइ खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीका अनुसार प्रतियोगिताको टेकअफ स्थल सराङकोट र ल्याण्डिङ स्थल खपौंदी रहनेछ । प्रतियोगितामा ‘एक्युरेसी’ एक मात्र इभेन्ट सञ्चालन हुनेछ । एक्युरेसीतर्फ व्यक्तिगत तथा टिम दुवै इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
पुरुष ओभरअल एक्युरेसीतर्फ विजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने उनले बताए । महिला ओभरअलतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । टिम ओभरअलतर्फ पनि पहिलो, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिताका सुरक्षा निर्देशक योगेश भट्टराईका अनुसार प्रतियोगितालाई सुरक्षित बनाउन विभिन्न प्रविधिको उपयोग गरिने छ भने सम्भावित दुर्घटनामा परेकालाई उद्धारका निम्ति नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले सहयोग लिइने छ ।
नेपाल पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराम लामिछानेले प्याराग्लाइडिङ प्रतियोगिताले पोखरा प्रवद्र्धनमा सघाउने विश्वास व्यक्त गरे ।
नेपाल हवाइ खेलकुद संस्था (ना) का महासचिव बलराम आचार्यका अनुसार गण्डकीमा हाल ६० भन्दा बढी प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् । यहाँ करिब ३६६ टेन्डम पाइलट र १४० सोलो पाइलट रहेको उनको भनाइ छ ।
नेपालले १९ औँ एसियाली खेलकुदमा प्याराग्लाइडिङतर्फ रजत पदक समेत विजेतासमेत हो ।





