बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बहुमतको भार र जिम्मेवारीको परीक्षा

बहुमतको भार र जिम्मेवारीको परीक्षा

अहिले रास्वपा शिखरमा पुगेको छ; अब टिक्ने कि लड्ने भन्ने निर्णय उसको व्यवहार, नीति र नेतृत्वले गर्नेछ । नेपालले फेरि निराशाको चक्र दोहो¥याउँछ कि नयाँ राजनीतिक संस्कारको सुरुवात गर्छ ?यो प्रश्नको उत्तर अब रास्वपाको कार्यसम्पादनमा निर्भर छ ।


  • Dhorpatan News
  • चैत्र ५ २०८२, बिहिबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछानेका लागि वर्तमान राजनीतिक क्षण अवसर मात्र होइन, गम्भीर परीक्षा पनि हो । झन्डै दुई तिहाइ नजिकको जनादेशले नेपाली राजनीतिमा एउटा नयाँ अध्याय सुरु गरेको छ, जसले आशा, अपेक्षा र शंकालाई एकसाथ जन्म दिएको छ ।

चुनावअघि आक्रामक र उत्तेजनापूर्ण अभिव्यक्तिका लागि चिनिएका लामिछाने अहिले संयमित, जिम्मेवार र सन्तुलित रूपमा प्रस्तुत भइरहेका छन् । यो परिवर्तन केवल व्यक्तिगत शैलीको परिमार्जन मात्र होइन, सत्ताको जिम्मेवारीको बोध पनि हो। जनताले दिएको अभूतपूर्व विश्वासले उनलाई र उनको पार्टीलाई अब भाषणभन्दा परिणाममा केन्द्रित हुन बाध्य बनाएको छ ।

लामिछानेले आफ्ना सांसदहरूलाई ‘शासक होइन, सेवक बन्न’ दिएको निर्देशन र सरकारी अस्पतालमै उपचार गर्न गरेको आग्रह प्रतीकात्मक रूपमा महत्वपूर्ण छ । यसले सत्तामा पुगेपछि जनतासँगको दूरी घटाउने सन्देश दिन खोजेको देखिन्छ । साथै, सामाजिक सञ्जालमा आक्रामकता कम गर्न र विपक्षीप्रति सम्मानजनक व्यवहार गर्न गरिएको आग्रहले राजनीतिक संस्कार सुधार्ने संकेत दिएको छ ।

तर, यस्ता प्रतिबद्धता व्यवहारमा कति रूपान्तरण हुन्छन् भन्ने नै मुख्य प्रश्न हो । नेपालको राजनीतिक इतिहासले देखाएको छ की ठूलो जनादेश पाउनु जति कठिन छ, त्यसलाई सम्हाल्नु अझ कठिन हुन्छ । बहुमतले स्थायित्व दिन सक्छ, तर त्यसैसँग ‘बहुमतको अभिशाप’ पनि जोडिएको हुन्छ, जहाँ शक्ति सन्तुलन बिग्रने, अहंकार बढ्ने र संस्थागत अनुशासन कमजोर हुने जोखिम रहन्छ ।

यही सन्दर्भमा रास्वपाको आगामी यात्रा चुनौतीपूर्ण देखिन्छ।पार्टीभित्रको अनुशासन कायम राख्ने, स्वार्थ समूहको प्रभावबाट बच्ने र सत्ता सञ्चालनमा पारदर्शिता कायम गर्ने । यी सबै काम शब्दमा सजिला तर व्यवहारमा कठिन छन् । लामिछानेले ‘हामी नमिल्दा मात्रै समस्या हुन्छ’ भनेका छन्, जसले आन्तरिक एकता नै सफलताको आधार हुने संकेत गर्छ ।

अर्कोतर्फ, सम्भावित प्रधानमन्त्री बालेन शाह र सभापति लामिछानेबीचको सम्बन्ध पनि सरकारको स्थायित्वका लागि निर्णायक हुनेछ । नेपालको विगतले देखाएको छ, नेताहरूबीचको अहंकार व्यवस्थापन गर्न नसक्दा बलिया सरकारहरू समेत ढलेका छन्। त्यसैले व्यक्तिगत लोकप्रियता भन्दा संस्थागत सहकार्य र परिपक्व नेतृत्व आवश्यक हुनेछ ।

प्रतिपक्षसँगको व्यवहार पनि उत्तिकै महत्वपूर्ण हुनेछ। लोकतन्त्रमा बलियो सरकारसँगै बलियो प्रतिपक्षको आवश्यकता हुन्छ । विपक्षीलाई तुच्छ ठान्ने प्रवृत्तिले अन्ततः सत्तारूढ दलकै विश्वसनीयता कमजोर बनाउँछ । सम्मानजनक सहअस्तित्वले मात्र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन सक्छ ।

जनताले यसपटक ‘परिवर्तन’ को नाममा मत दिएका छन् । त्यसैले रास्वपाका लागि पुराना दलजस्तै बहाना गर्ने छुट छैन् । लामिछानेले स्वयं स्वीकारेझैं अब कुनै अवरोध बाह्यभन्दा बढी आन्तरिक नियतिमा निर्भर हुनेछ । यदि सरकार असफल हुन्छ भने त्यसको जिम्मेवारी पनि आफैंले लिनुपर्ने छ ।

अन्ततः, यो जनादेश केवल जितको उत्सव होइन, जिम्मेवारीको भार हो । सगरमाथा आरोहणजस्तैशिखरमा पुग्नु ठूलो कुरा होइन, त्यहाँ टिकिरहनु मुख्य कुरा हो । अहिले रास्वपा शिखरमा पुगेको छ; अब टिक्ने कि लड्ने भन्ने निर्णय उसको व्यवहार, नीति र नेतृत्वले गर्नेछ । नेपालले फेरि निराशाको चक्र दोहो¥याउँछ कि नयाँ राजनीतिक संस्कारको सुरुवात गर्छ ?यो प्रश्नको उत्तर अब रास्वपाको कार्यसम्पादनमा निर्भर छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->