शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नियमित प्रशिक्षण र प्रतियोगिताको अभाव झेल्दै गण्डकी क्रिकेट

नियमित प्रशिक्षण र प्रतियोगिताको अभाव झेल्दै गण्डकी क्रिकेट

गण्डकी प्रदेशले अहिलेसम्म धेरै उपाधि जित्न सकेको छैन । नियमित प्रतियोगिता र प्रशिक्षणको अभाव हुँदा गण्डकी क्रिकेटमा पछि परेको खेलकर्मीहरू बताउँछन् । यसका लागि गण्डकी प्रदेश स्तरीय सिनियर क्रिकेट लिगहरूको आवश्यक देखिएको खेलकर्मीहरूको भनाइ छ ।


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०८२, बिहिबार

पोखरा/मंगलबार गण्डकी प्रदेशस्तरीय प्रधानमन्त्री कप (पीएम कप) एक दिवसीय क्रिकेट प्रतियोगिता सम्पन्न भयो । राष्ट्रिय पीएम कपका लागि प्रदेशका खेलाडी छनोट गर्ने र आगामी शनिबारदेखि हुने पीएम कपमा सहभागि हुँदैछ । पीएम कपका लागि गण्डकी प्रदेश टिम छनोटमा २७ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ । त्यसबाट ३ खेलाडी बाहिरिनेछन् ।

नयाँ जोश र जागरका साथ यसपटक गण्डकीको टोली पीएम कपका लागि जाँदै छ । गण्डकीका कप्तान विपिन खत्रीले आफूहरूलाई बन्द सत्रको समय अभाव भएको गुनासो गरेका छन् । उनले देशका अन्य प्रदेशमा निरन्तर प्रतियोगितासँगै प्रशिक्षण भइरहँदा गण्डकीमा भने त्यसको अभाव खड्किएको सुनाए ।

पीएम कपमा उत्कृष्ट ४ भित्र पर्ने गण्डकीको यस पटकको लक्ष्य रहेको छ । प्रदेशस्तरका प्रतियोगिता आयोजना हुन आवश्यक रहेको छ । गण्डकीमा सिनियर खेल भनेकै पीएम कप र गण्डकी टी २० मात्रै हो । खेलाडीका लागि चार दिन बन्द प्रशिक्षणका लागि पर्याप्त समय नरहेको खत्री बताउँछन् ।

‘खेलाडीहरूले प्रतियोगिता थोरै पाएको कारण एक्सपोजर नदेखिएको हो । हामीले कति वटा प्रतियोगिता खेल्यौँ ? उही २ वटा मात्रै हो । खेल नखेलेपछि कुन खेलाडी कस्तो सेटमा छ भन्ने थाहै हुँदैन, केही आइडिया नै हुँदैन, यहाँ पनि लिग हुन आवश्यक छ’ उनले भने, ‘क्याम्प हामीलाई निकै कम भयो । सबैले आफ्नो प्रदर्शन देखाउन पाइरहेका छैनौं । आगामी दिनमा यस्तो समस्या नहोस् भन्ने चाहान्छौं ।’ तर, उनी यतिमा मात्रै सीमित रहेनन् । खेलाडीले माग गरेर मात्रै पनि नहुने र आफ्नो उत्कृष्ट प्रदर्शनीसमेत दिनुपर्नेमा जोड दिन्छन् । खेलाडीले समेत आफूले मिहिनेत गर्न आवश्यक रहेको बताउँछन् ।

यस्तै प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले गण्डकीका खेलाडी कमजोर नरहेको बताए । खेलाडीहरूको गुनासो सुनेपश्चात् अध्यक्ष सिग्देलले आफूहरूलाई पनि त्यो अभाव महसुस भइरहेको बताए । एक दिवसीय क्रिकेटमा नेपालको खस्कँदो प्रदर्शनी रहेको र त्यसका लागि उत्कृष्ट खेलाडी विकास गर्ने उद्देश्यका साथ गण्डकी प्रदेशले केही योजनाको खाका तयार गर्दै गरेको सिग्देल बताउँछन् ।

‘मलाई हाम्रा खेलाडीको स्तर कति छ र कस्तो प्रदर्शनी गर्न सक्छन् भन्ने राम्रोसँग थाहा छ, तर, हामीले सकेको गर्न सकिरहेका छैनौं, यसका लागि धेरै प्रतियोगिता हुन पनि आवश्यक छ । आगामी दिनमा हामीले एक दिवसीय क्रिकेटको ठूलो प्रतियोगिता आयोजना गर्ने समेत सोचेका छौं, जसले गण्डकीका खेलाडीलाई राष्ट्रिय टिमसम्म पु¥याउन मद्दत गर्नेछ’ उनले भने, ‘तयारीमा छौं, आगामी दिनमा सफल हुनेमा विश्वास लिएका छौं ।’
गण्डकी प्रदेशले अहिलेसम्म धेरै उपाधि जित्न सकेको छैन । नियमित प्रतियोगिता र प्रशिक्षणको अभाव हुँदा गण्डकी क्रिकेटमा पछि परेको खेलकर्मीहरू बताउँछन् । यसका लागि गण्डकी प्रदेश स्तरीय सिनियर क्रिकेट लिगहरूको आवश्यक देखिएको खेलकर्मीहरूको भनाइ छ ।

यी हुन् बन्द प्रशिक्षणमा परेका २६ खेलाडी
प्रारम्भिक छनोटमा २६ खेलाडीलाई बोलाइएको छ । बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरूमा विपिन खत्री, मुस्कान थापा, अर्जुन कुमाल, करण पंगेनी, भास क्षेत्री, समीर कँडेल, दीपक डुम्रे, अराश तामाङ, सन्देश पन्थी, दिनेश बि. मगर, अभिषेक थापा, रोहित चन्द, गौरव बि.के., अनिश गुरुङ, सिब्रिन श्रेष्ठ, अपराजित पौडेल, कमल परियार, कृष्ण पौडेल, अंकित न्यौपाने, मनीष गैरे, रमेश साह, सुवास भण्डारी, विश्वास पराजुली, किरण भट्टराई, विश्व कार्की, तुल्सीराम भण्डारी र रोशन गौतम रहेका छन् ।

गण्डकीलाई भिक्टोरियन ईन्स्टिच्युटको साथ
पीएम कपका लागि गण्डकीको क्रिकेट टोलीलाई भिक्टोरिएन इन्स्टीच्युट अफ टेक्नोलोजीले साथ दिएको छ । इन्स्टीच्युटले खेलाडीका लागि जर्सी सहयोग गरेको हो । उक्त जर्सीको बुधबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अनावरण गरे ।

सोही क्रममा मेयर आचार्यले पोखरामा छिट्टै ‘पोखरा कप अन्तर–महानगर क्रिकेट च्याम्पियनसिप’ आयोजना गरिने घोषणासमेत गरेका छन् । उक्त प्रतियोगिताले देशभरका महानगरहरूबीच क्रिकेटको प्रतिस्पर्धात्मक वातावरण सुदृढ बनाउने र नयाँ प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य सुदिप शर्माले खेलाडीहरूको सुविधा विस्तारसँगै उनीहरूको सीप र क्षमताको विकासमा क्यानले योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी दिए । उनले खेलाडीहरूलाई दबाबमुक्त वातावरणमा उत्कृष्ट प्रदर्शन गर्न आवश्यक पूर्वाधार, प्रशिक्षण र अवसर उपलब्ध गराउन क्यान प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->