सडक सञ्जालको महत्व कति हुन्छ र यसले जनतालाई के दिन्छ भन्ने प्रश्नको उत्तर खोज्ने हो भने, त्रिभुवन राजपथ,महेन्द्र राजमार्ग र हालको मध्यपहाडी लोकमार्गलाई हेरे पुग्छ । त्रिभुवन राजपथ बन्नुअघि नेपाल ढुंगेयुगमै थियो । त्रिभुवन राजपथ निर्माणसँगै विकासको एउटा क्रम सुरु भयो । महेन्द्र राजमार्गले त्यसमा इट्टा थप्यो । महाकालीमा पुल बनेपछि सुदूर पश्चिमबासीले नेपाली भएको अनुभूति गर्न पाए भने त्रिवेणी–कोरला राजमार्ग निर्माणसँगै उपल्लो मुस्ताङबासीको दिनचर्या सहज बन्यो ।
अहिले नेपालमा सडक बिस्तारको क्रम तीव्र बनेको छ । डोल्पा पनि सडक सञ्जालमा जोडिने क्रममा छ । बाह्रैमास ती सडक सञ्चालन नहुनु एउटा कुरा हो,नत्र गण्डकीका मनाङ र गोर्खाका दुई पालिकाबाहेक सबैजसो ठाउँ सडकसँग जोडिएको छ । सडक सञ्जालले भौगोलिक दूरी छोट्याउनेमात्र हैन,बस्तीहरुमा सुविधा र चेतना पु¥याउँछ । राज्यको उपस्थिति देखाउने भरपर्दो माध्यम पनि सडक नै हो । सडक बिस्तारले गति लिँदा हिजोका दुःखका दिनहरु सकिएका छन् । तीर्थाटन÷देशाटन गर्न सजिलो बनेको छ । नयाँ गन्तव्यहरु चर्चामा आएका छन् । घुम्ने संस्कृतिको विकास भएको छ । मध्यपहाडी राजमार्ग निर्माणले चाहिँ यो प्रवृत्तिमा झनै बढोत्तरी गरिदिएको छ ।
पूर्वमा पाँचथर जिल्लाको चियोभञ्ज्याङ (नेपाल भारत सीमाना) देखि पश्चिममा बैतडी जिल्लाको झुलाघाट (महाकाली नदी) सम्म पुग्ने गरी करीब १८७९ किलोमिटर लामो यो राजमार्गको परिकल्पना तथा निर्माण थालनी २०६४ सालतिरै भएको हो तर १० वर्षमा सक्नुपर्ने यो परियोजना समयमै सुरु भएन र हालसम्म पनि पूर्ण रुपले बनिसकेको छैन । महाभारत पर्वतको माथिल्लो भागबाट पहाडै–पहाड जोड्ने यो राजमार्ग त्यही पहाडको फाँट हुदै २६ जिल्लाका २१५ भन्दा बढी बस्तीमा पुग्छ । राजमार्ग निर्माणसँगै यसका छेउमा पनि बस्तीहरु विकास हुँदा यो संख्या अझ बढ्दा यसले झण्डै ६० लाख नागरिकलाई सेवा प्रदान गर्छ । मध्यपहाडीको निर्माणसँगै अहिले गण्डकी प्रदेशमा पर्ने बागलुङबाट पूर्वको झुलाघाट वा पश्चिमको रारातालसम्म पुुग्ने अवसर सिर्जना भएको छ । बागलुङको दूरदराजमा फल्ने तरकारी र अन्य उत्पादनहरु चर्चित बजार बुटबल लैजाने अवसर जुटेको छ । राजमार्गकै कारण सो क्षेत्रमा होटल व्यवसाय फस्टाएको छ । स्थानीय उत्पादनले बजार पाउने अवस्था बनेको छ । बिरामी हुँदा औषधोपचारका निम्ति बोकिनुपर्ने बाध्यता हटेको छ । बितेका केही वर्षअघिसम्म यस्तो सुविधा थिएन । त्यो कालखण्डतिर फर्केर हेर्दा साँच्चै देशले काँचुली फेरेको छ । मध्यपहाडीको निर्माण सक्दो छिटो होस्,सहायक मार्गहरु सुरक्षित र भरपर्दा बनून् । मध्यपहाडी राजमार्गको अर्को उद्देश्य बसाइँसराइ रोक्ने तथा पहाडी क्षेत्रमा सन्तुलित विकास गर्ने पनि रहेको थियो । राजमार्ग बनेसँगै नयाँ अवसर सिर्जना त भएका छन् तर बसाइँसराइको उपक्रम चाहिँ रोकिएको छैन । मध्यपहाडीको मध्यभागमै पर्ने बागलुङमा पनि बसाइँसराइको समस्या विकराल छ । सडकहरु गाउँमा सहरको तरकारी पु¥याउने माध्यममात्र नभएर उत्पादकत्व बढाउने, बसाइँसराइ रोक्दै समृद्धिको यात्रा तय गर्ने साधन बनून् । दूरी छोट्याउने राजमार्गहरु दूर बनाउने साधन नबनून् ।




