शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रात्रिकालीन दौडमा वडाध्यक्षहरूद्वारा सहयोग र समन्वयको प्रतिबद्धता

रात्रिकालीन दौडमा वडाध्यक्षहरूद्वारा सहयोग र समन्वयको प्रतिबद्धता


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०८२, बुधबार

‎पोखरा/नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने रात्रिकालीन दौड प्रतियोगितालाई सफल पार्न पोखराका वडाध्यक्षहरूले आवश्यक सहयोग गर्ने बताएका छन्। मंगलबार पोखरा रंगशालामा आयोजित सरोकारवालाको छलफल कार्यक्रममा दौडको रुट पर्ने वडाध्यक्षहरूले प्रतियोगितालाई सफल पार्न उत्साहका साथ लाग्ने धारणा व्यक्त गरे ।

पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखरामा केही व्यवसायीहरू चौबीसै घण्टा व्यवसाय सञ्चालनको अवस्थामा रहेको सन्दर्भमा रात्रिकालीन दौडले व्यवसायीलाई प्रवद्र्धन गर्ने बताए। उनले प्रतियोगिता सफल पार्न आफ्नो वडाले विशेष भूमिका निर्वाह गर्ने बताउँदै पोखराको नयाँ ब्राण्ड बन्न सक्ने उदाहरणीय प्रतियोगितालाई सबैले अपनत्वसहितको दायित्वबोध गर्नसमेत सुझाए ।

पोखरा वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले प्रतियोगिता सफल पार्न आवश्यक सहयोगसहित वडाका टोल विकास संस्था, आमा समूह, क्लब र विभिन्न संघसंस्थासँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे। पोखरा वडा नम्बर ७ का वडाध्यक्ष राममोहन आचार्यले प्रतियोगिताको आयोजक पोखरा क्लिक र पोखरा प्रवर्धन केन्द्र भए पनि यो समग्र पोखरेलीको इभेन्टको रूपमा लिएर रात्रिदौड भएकाले लाइट नपुगेका ठाउँमा आवश्यक लाइटको व्यवस्था गर्ने बताए ।

पोखरा वडा नम्बर ८ का वडाध्यक्ष रुद्र बरालले नयाँ सोचले आएको नयाँ इभेन्टका सहभागी धावकहरूलाई उत्साहित बनाउन वडाबाट पूर्ण सहयोग हुने धारणा राखे । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले प्रतियोगिता सफल पार्न समितिका तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जाहेर गरे। प्रतियोगिताका प्राविधिक प्रमुख ओम गुरुङले रात्रिकालीन दौडको रोडमा लाइट आवश्यक भएको ठाउँमा व्यवस्थापनका लागि वडालाई जानकारी गराउने बताए ।

सरोकारवालाको छलफलमा वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुप्रसाद बरालले कार्यव्यस्तताले भौतिकरूपमा सहभागी हुन नसके पनि प्रतियोगितामा आवश्यक सहयोग रहने टेलिफोनबाट जानकारी गराए। प्रतियोगिताका संयोजक दीननाथ बरालले खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न रात्रिदौड आयोजना गरिएको बताए ।

उनले पोखराको बाराहीघाटबाट सुरु हुने पाँच किलोमिटरको दौड सेन्टरप्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुल हुँदै झण्डा पार्क फल्चामा समापन हुने जानकारी दिए ।

पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले राति आयोजना हुने दौडले शहरी गतिशीलता, शान्ति–सुरक्षा, व्यावसायिक प्रवद्र्धन र स्वस्थ जीवनशैलीप्रतिको जागरूकता जस्ता शक्तिशाली सन्देश बोक्ने मात्र नभएर पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्षमा प्रवद्र्धनात्मक कार्यक्रम कम भएकाले “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने अवधारणामा रात्रिदौड आयोजना गर्न लागिएको बताए ।

प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्यमा यही चैत्र २८ गते हुने प्रतियोगिताका लागि पोखरा वडा नं. ९ ले समन्वय गरेको सो अवसरमा जानकारी गराइयो। मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले हस्पिटल पार्टनरकारूपमा सहयोग गर्ने प्रतियोगिताका लागि केही दिनमै अनलाइन फारम खुला हुने केन्द्रका सचिव सागर सुनारले जानकारी दिए। उक्त प्रतियोगिताको लागि अटोवेज प्रा.लि., सिटिजन फर्निचर, परिचय एड्भटाइजिङ लगायतका संघ संस्थाको सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->