पोखरा/गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं महाधिवेशनबाट नव–निर्वाचित वरिष्ठ उपाध्यक्ष रोविनप्रसाद शेरचनलाई गण्डकी प्रदेश टेनिस संघले सम्मान गरेको छ ।
पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा बिहीबार आयोजित कार्यक्रममा शेरचनलाई सम्मान प्रदान गरिएको हो । वरिष्ठ उपाध्यक्षमा निर्वाचित शेरचन गण्डकी प्रदेश टेनिस संघले सञ्चालन गर्दै आएको ग्रास–रुट टेनिस कार्यक्रमका सहयोगी पनि हुन् । साथै, कार्यक्रममा एनआरएनए महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित तथा खेलकुद विभाग प्रमुख मनोज गोर्खालीलाई पनि टेनिस संघले स्वागत गरेको थियो ।
सो अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष शेरचनले गण्डकीमा टेनिस खेलको विकास यात्रासँग जोडिन पाउनु आफूसाठी गर्वको विषय रहेको बताए ।
गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले शेरचनजस्तै शुभेच्छुकको सहयोगबाट ग्रो टेनिस कार्यक्रमअन्तर्गत ११ जना तथा जुनियर टेनिस प्रशिक्षणमा ३० जना गरी ४१ जना बालबालिकाले नियमित प्रशिक्षण गरिरहेको जानकारी दिए ।





