पोखरा/प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश जित विहिन छ । जितविहिन गण्डकीको ३ खेलबाट १ अंक रहेको छ । शनिबार नेपाल पुलिस विरुद्ध उत्रिएको गण्डकीले १८ ओभरको खेल खेल्दा १०३ रन बनायो । वर्षाका कारण २२ ओभरमा झारिएको खेलमा गण्डकीले २ विकेट गुमाइसकेको थियो । ओपनर अर्जुन कुमाल ३४ रनमा नटआउट रहे । उनले ५४ बलको सामना गर्दा ३ चौका प्रहार गरे । उनलाई दिपक डुम्रेले साथ दिइरहेका थिए । टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीको सुरुवात राम्रै रह्यो । तर, वर्षाले खेल रोकिदाँ पुलिस संग अंक बाँडेको छ ।
यसअघि गण्डकीले पहिलो खेल बागमति र दोस्रो खेल आर्मी विरुद्ध खेल्यो । दुवैमा हार व्यहोरेको थियो । अंक तालिकाको आधारमा गण्डकी सबैभन्दा पुछारमा छ । तर, गण्डकी जति पुछारमा छ अलराउन्डर अर्जुन कुमाल त्यति माथि छन् । जारी प्रतियोगितामा गण्डकी प्रदेशबाट उत्कृष्ट प्रदर्शनी कसैले गरेको छ भने ति हुन अर्जुन । एक दिवसीय क्रिकेटमा सम्भावना बोकेका अर्जुनले पिएम कममा आफुलाई सावित गरिरहेका छन् । तीन खेल खेलको उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा छन् ।
उनको नाम दोस्रो स्थानमा छ । ३ खेलमा अर्जुनको कुल १७५ रन छ । शीर्षस्थानमा नेपाल पुलिसका शंकर राना रहेका छन् । उनको २२३ रन छ । बागमतिका इशान पाण्डे १५८ रनका साथ तेस्रो स्थानमा रहेका छन् ।
अर्जुनले नेपाली राष्ट्रिय टोलीका मुख्य खेलाडीहरुलाई समेत पछि पारेका छन् । राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, वसिर अहमद, भीम सार्की, रसिद खान, विनोद भण्डारी, कुशल मल्ल, लोकेश बम, गुल्सन झा जस्ता खेलाडीलाई समेत पछि पारेका छन् ।
सर्वाधिक अर्धशतक पुरा गर्नेको दोस्रो सूचिमा अर्जुन छन् । उनले २ खेलमा अर्धशतक पुरा गरेका छन् । सर्वाधिक चौका प्रहार गर्नेको समेत दोस्रो सूचिमा उनकै नाम छ । उनले कुल १८ चौका प्रहार गरेका छन् । उनलाई एपिएफका मुहम्मद आसिफ शेखले पछ्याइरहेका छन् ।
पिएम कपमा गण्डकीले पहिलो खेल बागमति विरुद्ध खेलेको थियो । उक्त खेलमा १२४ रन जोडेको गण्डकीका लागि अर्जुनले सर्वाधिक ७४ रनको योगदान दिएका थिए । उक्त खेलमा उनले ११ चौका प्रहार गरे । आर्मी विरुद्धको खेलमा ७ विकेटको हार व्यहोरेको गण्डकी ७ विकेटले हार व्यहोरेको थियो । ४९.४ ओभरमा २०९ रन बनाउने क्रममा अर्जुनले सर्वाधिक ६७ रनको योगदान दिएका थिए ।
अर्जुन तिनै खेलाडी हुन जसलाई नेपाल क्रिकेट संघ (क्यान) ले उपेक्षामा पारेको थियो । करिब एक महिनाअघि क्यानले ओमान र युएईसंगको एक दिवसीय सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउँदा अर्जुनलाई बोलाइएन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको उक्त सिरिजका लागि क्यानले अधिकांश राष्ट्रिय टोलीका खेलाडीलाई समेट्दै क्याम्पमा बोलाए पनि मध्यपूर्वमा बढेको तनावका कारण सिरिज हुन सकेन । यस अघिको पिएम कपमा समेत अर्जुनले सर्वाधिक रन बनाउँदै उत्कृष्ट ब्याटरको उपाधि जितेका थिए । अहिले पनि उनी उत्कृष्ट लयमा रहेका छन् । ३ खेलमै उनले आफुलाई सावित गरिरहेका छन् ।
यि हुन् गण्डकीका खेलाडी
गण्डकी प्रदेशको टिम कप्तानी विपिन खत्रीले सम्हालेका छन् । गण्डकीको टिममा कप्तान खत्रीसहित अर्जुन, सुवाष भण्डारी, अपराजित पौडेल, मुस्कान थापा, सिब्रिन श्रेष्ठ, वंश क्षेत्री, दिनेश बुढा मगर, सन्देश पन्थी, गौरभ विक, कृष्ण पौडेल, अंकित न्यौपाने, विश्व काकी, दिपक डुम्रे र कमल परियार रहेका छन् ।





