बागलुङ/कालीका कप भलिबलको महिलातर्फ इलाइट भलिबल एकेडेमी पोखरा च्याम्पियन बनेको छ । घरेलु टोली शान्ता माविलाई ३–० को सोझो सेटमा निराश बनाउँदै इलाइट भलिबल एकेडेमी च्याम्पियन बनेको हो ।
आइतबार सम्पन्न फाइनल खेलमा इलाइटले शान्त माविलाई २५–२३, २५–२२ र २५–२३ अंकले पाजित गरेको हो । च्याम्पियन इलाइटले नगद १ लाख रुपियाँ र ट्रफी प्राप्त गर्दा उपविजेता शान्ता माविले नगद ५० हजारमा चित्त बुझाएको छ ।
यस्तै, सृष्टि फर्निचर धविमाविलाई पराजित गर्दै जैमिनी नगरपालिका तृतिय भएको छ । सृष्टिलाई ३–१ को सेटमा पराजित गर्दा जैमिनीले २५–१४, २५–२२, २६–२८, २५–१४ अंक जोड्यो । तेस्रो बनेको जैमिनीले नगद २५ हजार प्राप्त गरेको हो ।
विद्यागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पनि जनही ५ हजार रुपियाँका दरले पुरस्कृत गरिएको प्रतियोगिता संयोजक सन्दिप खड्काले जानकारी दिए ।
कालीका कपको पुरुषतर्फ घले हार्भेष्टिङ अष्ट्रेलिया र सिद्वार्थ चश्मा घर फाइलमा भीड्दै छन् । आइतबार हुने फाइनल खेलको विजेताले नगद ३ लाख रुपियाँ, द्वितीयले १ लाख ५० हजार र तृतीयले ५० हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई ५ हजारले पुरस्कृत गरिनेछ ।
बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजना र जिल्ला भलिबल संघको आयोजनामा कालीका कप खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।





