बागलुङ/नेपाल पत्रकार महासंघले आयोजना गरेको मिडिया मेला सफल बनाउन बिद्यालय तहका बिद्यार्थीलाई भित्तेपत्रिका तालिम दिइएको छ ।
मंगलबार महासंघले सदरमुकामका विद्यालयका विद्यार्थीलाई तालिम दिइ मेलामा उनीहरुकै उत्पादनको प्रतिस्पर्धा गराउने भएको महासंघका अध्यक्ष राम थापा ‘अबिरल’ले बताए । मंगलबार भएको तालिममा १४ विद्यालयका ४७ जना जना विद्यार्थी सहभागि थिए ।
तालिममा सिकेको सीपमार्फत विद्यार्थीले भित्तेपत्रिका बनाउने छन् । ती पत्रिकाहरु मेलामा प्रदर्शनी गरिने छ । मेलामै निर्णयकर्ता तोकेर विद्यार्थीलाई पुरस्कार दिइने छ ।
मेलाका लागि महासंघले अन्तिम तयारी गरिसकेको छ । मेलामा बागलुङको पत्रकारिता, गिद्देप्रेसदेखि डिजिटल युग, बागलुङको विकासमा कृषि, पर्यटन लगायतको क्षेत्रको आवस्यकता र योगदान बारेमा पनि छलफल हुनेछ । त्यस बाहेक पछिल्लो समय पत्रकारिताप्रति बढेको अविश्वास कम गरी पत्रकारितालाई व्यवसायिक बनाउन पहल गरिने समेत उद्देश्यमा उल्लेख छ । मेलामा पुराना पत्रकारिताका साधनको प्रर्दशनी, चित्रकला लगायतको कार्यक्रम समेत राखिएको छ ।
मेलालाई प्रचार गर्ने लक्ष्यले महासंघको स्थापना दिवशको दिन सोमबार पनि अन्तरक्रिया गरिएको थियो । मेलालाई ऐतिहासिक बनाउन जिल्लाका सबै स्थानीय तह, सरकारी तथा गैरसरकारी क्षेत्रले सहकार्यको तयारी गरेका छन् ।





