आजबाट एसइई परीक्षा सुरु हुँदैछ । २०८२ सालको यो एसइईमा देशभरका ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागि हुँदैछन् । १ हजार ९६६ केन्द्रमार्फत् लिइने यो परीक्षा उत्तीर्ण भएपछि ज्ञान आर्जनको अर्को ढोका खुल्छ भन्ने विद्यार्थी र अभिभावकको विश्वास रहेको छ । यद्यपि, अहिले कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षाको रुपमा वर्गीकरण गरिएको नै किन नहोस् !
नेपालको शिक्षा प्रणालीलाई अहिले पनिशिक्षा ऐन २०२८ ले नै निर्देशित गर्छ । महेन्द्रकालीन शिक्षा ऐनले कक्षा १० लाई उच्च शिक्षाको प्रस्थानबिन्दु मान्यो । त्यसैले तत्कालीन एसएलसी ‘फलामे तगारो’ बन्नपुग्यो । सोही शिक्षा ऐनमा भएको संशोधनले चाहिँ ११ र १२ लाई पनि माध्यमिक शिक्षाकै रुपमा अंगिकार ग¥यो र कक्षा १२ पछिको अवस्थालाई उच्च शिक्षा मानियो । बीचमा रहेको प्रविणता प्रमाणपत्र तह हटाइयो ।
तर, ‘नानीदेखि लागेको बानी’ भनेजस्तै नानीबाबु र अभिभावकहरु अहिले पनि कक्षा १० लाई पढाइको एक खुड्किलो नै मान्छन्, कक्षा १० उत्तीर्ण गरेपछि सम्भावनाको अर्को ढोका खुल्ने विश्वास राख्छन् । यसो हुनुमा हिजोको धङधङ्गी मात्र नभएर नानीबाबुको उमेर पनि कारक छ । पूर्वीय समाज–
‘लालयेत् पञ्चवर्षाणि, दश वर्षाणि ताडयेत् ।
प्राप्ते तु षोडशे वर्षे, पुत्रे मित्रवदाचरेत् ।।
भन्ने मान्यतामा विश्वास गर्छ । हाम्रो समाजमा प्रचलनमा रहेका गीतहरुले पनि १६ वर्षलाई जवानीमा प्रवेशको रुपमा स्वीकार्छ भने मनोविज्ञान पनि यो मान्यताबाट टाढा छैन । एसईई दिने नानीबाबुहरु १६ वर्ष हाराहारीमा हुन्छन् । किशोरावस्थामा प्रवेश गर्दाका उनीहरुमा बैंसको तुजुक हुन्छ । संसार जित्न सक्छु, हात्ती उचाल्न सक्छु भन्ने भाव जागृत हुने यो उमेरले स्वतन्त्रता पनि खोजेकै हुन्छ । शरीरमा उर्जा भरिएपछि त्यसले यदाकदा खराब बाटो समात्ने सम्भावना उत्तिकै हुन्छ । त्यसैले नानीबाबुको लागि यो उमेर सबैभन्दा संवेदनशील मानिन्छ । नेपालको शिक्षा नीतिले ११ र १२ अर्थात् युवावस्थालाई पनि माध्यमिक शिक्षाको रुपमा अथ्र्याए पनि शरीर र मनोविज्ञानले त्यसको विपरीत रहन्छ । अभिभावक र नानीबाबु स्वयंले एसइईलाई नै ‘फलामे ढोका’ मान्नुको कारण यहीहो ।
नेपालको शिक्षा नीतिअनुसार माध्यमिक शिक्षाको मध्यकालीन कक्षा अर्थात् १० पछिको परीक्षा मानिने यस वर्षको एसइईमा देशभरबाट ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदैछन् । एसइईपछि उनीहरु नयाँ विषय र बाटो रोज्ने दोबाटोमा पुग्ने नै छन् । तर, नयाँ बाटो रोज्नका लागि मनोवैज्ञानिक रुपले नै ‘फलामे ढोका’ रहँदै आएको एसइई परीक्षा राम्रो गर्नुपर्छ । राम्रो गर्नका लागि मिहिनेत र धैर्य चाहिन्छ । नानीबाबुले सम्झनुपर्ने कुरा के हो भने, संयमपूर्ण हुँदामात्र परीक्षा राम्रो हुने हो । आत्तिएर गरिने निर्णय सही नहुन सक्छ । नानीबाबुले बुझ्नुपर्ने कुुरा के हो भने, हरेक प्रश्नहरुको उत्तर हुन्छन् । त्यो उत्तर खोज्न टाढा जानुपर्दैन । सबैभन्दा पहिला जानेको प्रश्नबाट उत्तर दिन सुरु गर्नुपर्छ । आत्मविश्वास बढेपछि बिर्सिएका कुराहरु पनि सम्झनामा आउँछन् । कथंकदाचित उत्तर जानिएन भने पनि धैर्यता गुमाउनु हुँदैन । दिमाग खियाउँदा उत्तर अवश्य भेटिन्छ । चुलबुले उमेरमा आएको यो परीक्षालाई मौकाको रुपमा बुझ्नासाथ परीक्षाबाट उत्पन्न हुने डर स्वतः पर भाग्छ । आजदेखि सुरु हुने एसइईमा सहभागी सम्पूर्ण नानीबाबुहरुलाई ढोरपाटन राष्ट्रिय दैनिकको तर्फबाट शुभकामना !




