बागलुङ/बिहिबारबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बागलुङका ४ हजार २ सय ५१ जना विद्यार्थी सहभागि हुने भएका छन् । जुन अघिल्लो वर्षभन्दा ५ सय ८४ जना कम हो । यो वर्ष २ हजार १ सय ११ छात्रा र २ हजार १ सय ४० छात्रले परिक्षा दिनेछन् ।
जिल्लाका १ सय ४७ विद्यालयका विद्यार्थीले २५ वटा केन्द्रबाट परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख प्रकाशबन्धु अर्यालले बताए । गतवर्ष ३१ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएकोमा यो वर्ष केन्द्र घटेको हो ।
जिल्लाका १ सय १५ सामुदायिक र ३२ संस्थागत विद्यालय एसइईका लागि तयारीमा छन् । सदरमुकामको विद्यामन्दिर माविमा खुला विद्यालयका विद्यार्थीले पनि परीक्षा दिनेछन् । जिल्लाका १० वटा विद्यालयमा सञ्चालित प्राविधिक धारका बिद्यार्थीले पनि परीक्षा दिनेछन् ।
अघिल्लो वर्षका विद्यार्थीले ग्रेड वृद्दिको लागि परीक्षा दिनेछन् । पशु विज्ञानतर्फ ३, बाली विज्ञानतर्फ ३, सिभिल इन्जिनियरतर्फ २ र कम्प्युटर इन्जिनियरतर्फ २ वटा विद्यालयका विद्यार्थीले परीक्षा दिन लागेको अर्यालले जानकारी दिए ।
यो वर्ष अपाङ्गता भएकातर्फ धौलागिरि बहिरा माविबाट र बलेवास्थित जनता–धन माविका दृष्टीविहिन विद्यार्थी पनि परीक्षामा सहभागि बन्दैछन् । परीक्षालाई मर्यादित बनाउन सबै पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र जनप्रतिनिधि तथा प्रहरी चौकीमा समन्वय गरिसकिएको अर्यालले जानकारी दिए ।
केही वर्षअघि परीक्षा केन्द्र र केन्द्राध्यक्ष बन्न होड चल्ने गरेकोमा इकाईले होम सेन्टर नरहने गरी व्यवस्थापन गरेपछि तोकिएका केन्द्रमा सहजै परीक्षा सञ्चालन हुन थालेको छ । त्यसका लागि सम्बन्धित विद्यालयमा आफ्ना विद्यार्थीले परीक्षा दिन नपाउने र केन्द्र रहेकै विद्यालयको प्रधानाध्यापक केन्द्राध्यक्ष बन्ने भएपछि परीक्षा मर्यादित बन्न थालेको हो ।





