शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्थानीय उत्पादनको व्यापार घट्दा व्यवसायी चिन्तित

स्थानीय उत्पादनको व्यापार घट्दा व्यवसायी चिन्तित

‘‘बाउबाजेको पेशालाई चटक्कै माया मार्न नसक्दा जसोतसो ठेकाको व्यापारलाई निरन्तरता दिनुभएको छु’’ चैत्राष्टमी मेलामा ठेका लिएर व्यापार गर्न आएका बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरका टिकाराम चुदाराले भने, ‘‘स्थानीय उत्पादनप्रति उपभोक्ताले बेवास्ता गर्दा मन खिन्न हुन्छ ।’’


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०८२, शनिबार

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरका टिकाराम चुदाराले दारको काठबाट बन्ने ठेका, मदानी, पुङ र पुचाईको व्यापार गर्न थालेको ५० वर्ष बित्यो । कालिका मन्दिरमा लाग्ने चैत्राष्टमी र पाल्पा–गुल्मीको रिडीमा लाग्ने माघे सङ्क्रान्ति मेलामा ठेकाको व्यापार गर्न पुग्नुहुन्छ । ठेकाको व्यापारले चुदाराको परिवारको जीविकोपार्जन चलेको छ ।

पछिल्लो समय स्थानीय सिपबाट उत्पादित सामग्रीहरुको व्यापार निराशजनक छ । दारको काठबाट बन्ने सामग्रीलाई सिल्टेका भाडाले विस्थापित गरेका छन् । ‘‘बाउबाजेको पेशालाई चटक्कै माया मार्न नसक्दा जसोतसो ठेकाको व्यापारलाई निरन्तरता दिनुभएको छु’’ चैत्राष्टमी मेलामा ठेका लिएर व्यापार गर्न आएका चुदाराले भने, ‘‘स्थानीय उत्पादनप्रति उपभोक्ताले बेवास्ता गर्दा मन खिन्न हुन्छ ।’’

२०४० देखि २०६० सालसम्म ठेकाको व्यापार राम्रै भएपनि अहिले ह्वात्तै घटेको चुदाराले अनुभव सुनाए । ‘‘ठेका खरिद गर्न पर्वत, स्याङ्जा, कास्की, तनहुँ, नारायणघाटदेखि बुटवलसम्मका मान्छे चैत्राष्टमी मेलामा आउँथे, आफुसंगै छिमेकीका लागि पनि खरिद गरि लगिदिन्थे’’ चुदाराले भने, ‘‘यहाँका ठेकाले माग धान्न नसक्दा दाङ र सल्यानबाट आयात गरेर बिक्री गर्नुपर्ने अवस्था थियो, अहिले यहिं उत्पादन भएका ठेका बिक्री हुँदैनन् ।’

अहिले गाउँघरमै बस्तुभाउ पाल्ने चलन हराएपछि ठेका–मदानी लोप हुने अवस्था पुगेको चुदाराको बुझाई छ । बजारमा सस्तो मुल्यमा सिल्टेका ठेका पाइन थालेपछि २ देखि २४ हजार रुपियाँ मुल्यका दारका ठेका महंगा भन्दै उपभोक्ता पन्छिन थालेको चुदाराले बताए । दारको काठबाट बन्ने ठेका, मदानी, पुङ र पुचाई घर सजावट र उपहार दिनको लागि उपभोक्ताले खरिद गर्न थालेको चुदाराले बताए ।

वडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका ६९ वर्षिय गाडरे बुढाथोकी निगालोबाट बनेका डाला–डाली बिक्री गर्न चैत्राष्टमी मेलामा आएको एक साता बित्यो । तर, सोचे जस्तो व्यापार नहुँदा बुढाथोकी निराश मुद्रामा देखिए । ‘‘पहिले २५ हजार रुपियाँसम्मको व्यापार हुन्थ्यो, अहिले सोचेजस्तो व्यापार भएन’’ बुढाथोकीले भने, ‘‘प्लाष्टिकजन्य सामाग्रीको प्रयोग बढ्दा गाउँघरमा उत्पादित वस्तुको बिक्री घटेको छ ।’’ मेला महोत्सवमा स्थानीय उत्पादनको व्यापार निरन्तर घटिरहँदा यहीं पेशामा आश्रित परिवारको जीविकोपार्जनमा समस्या भएको बुढाथोकीले दुखेसो सुनाए ।

आरन पेशाबाट परिवार पाल्दै आएका बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडाका ७२ वर्षिय खेमबहादुर विकले मेलामा घरायशी काममा प्रयोग हुने कृषि औजार ल्याएर आएपनि सोचेजस्तो व्यापार नभएको बताए । ‘‘सामाग्री ढुवानीको गाडी भाडा समेत तिर्न नपुग्ने अवस्था छ’’ विकले भने, ‘‘आधुनिक भान्साका सामान बहुउपयोगी हुँदा घरेलु उद्योगमा बन्ने भदाली, झाँगा र हसियाको प्रयोग घट्दै गयो ।’’

मेलामा बागलुङको ताराखोला, माझखर्क, काठेखोला गाउँपालिकाको तंग्राम, वडिगाडको जलजला, तमानको लामेला, धादिङ र तनहुँबाट घरायसी र कृषिमा प्रयोग हुने सामाग्री बिक्रीका लागि ल्याउने गरिन्छ । बसाईसराईले गाउँबस्ती रित्तिदै जानु, बढ्दो वैदेशिक रोजगारले युवा पलायन हुँदा परम्परागत सामग्री लोप हुन थालेको विकले बताए ।

स्थानीय उत्पादनको घट्दो व्यापारले परम्परात पेशा लोप हुने अवस्था आएको गलकोट नगरपालिका वडा नं. ४ नरेठाँटीका मादल व्यवसायी अमृत बोहरा बताउँछन् । गाउँघर र मेलापातमा झाम्रो र दोहोरी गाउने प्रचलन हट्दै गएपछि डम्फु–मादलको व्यापार घटेको बोहराले बताए । ‘‘पुँजी पलायन रोक्न र गाउँघरमै स्वरोजगार बढाउन घरेलु उद्योगलाई प्रवद्र्वन गर्न स्थानीय सरकारले चासो दिनुपर्छ’’ बोहराले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->