नेपालको पर्यटनको आधारस्तम्भ भनेको आरोहण र पदयात्रा नै हो । विश्वका अन्य देशहरुमा पनि पदयात्रा गर्न सकिन्छ तर नेपालमा गरिने पदयात्रा मान्छेको दैनिकीसँग पनि जोडिन्छ । पोखराबाट उपल्लो मुस्ताङसम्म पुग्ने पर्यटकले नयाँ भू–दृष्यमात्र देख्दैन, नयाँ संस्कृति र चालचलन पनि अनुभूत गर्छ । त्यसैले नेपाल पदयात्राको लागि अलौकिक भूमि हो ।
बहुधार्मिक,बहुसांस्कृतिक तथा बहुभाषिक विशेषतालाई नेपालले पर्यटनको नयाँ ‘उत्पादन’को रुपमा बेच्न सकिन्छ । सेवाबाटै सन्तुष्टि दिनु पर्यटन उद्योगको विशेषता हो । सेवाबाट सन्तुष्ट भएका पर्यटकहरुले आफ्नो नेपाल बसाइ लम्ब्याउँदा नेपालीलाई आर्थिक उपार्जन हुन्छ । तर, दुःखका साथ भन्नुपर्छ, नेपालमा एउटा पर्यटकको सरदर बसाइ १२ दिनको हाराहारी र खर्च दैनिक ४० डलरभन्दा माथि उकाल्न सकिएको छैन । पदयात्रा मार्गहरु छोट्टिएको असर पूर्तिको लागि वैकल्पिक पदयात्रा मार्गहरुको विकास हुन सकेको छैन । नेपालका सहर र गाउँमा पर्यटकहरुको मन अड्याउने वातावरण निर्माणतर्फ कसैको ध्यान गएको छैन । देशमा पर्यटक आउनु एउटा पाटो हो,उनीहरुको बसाइ र गर्ने खर्चले अर्को कुरा हो । जबसम्म पर्यटकको बसाइ लम्ब्याउन र बढी खर्च गराउन सकिँदैन तबसम्म पर्यटनबाट सोचेजस्तो लाभ हुन सक्दैन । परम्परागत पदयात्रा मार्गहरु नासिँदै गएको बेला पर्यटकलाई यहीँ रोक्न संस्कृतिलाई पर्यटनसँग जोड्ने पहल गर्नुपर्छ ।
पछिल्लो समय स्थानीयस्तरमा गरिएका केही सार्थक पहलहरुले परिणाम पनि दिन थालेका छन् । त्यसको उदाहरणको रुपमा बागलुङ नगरपालिका क्षेत्रमा रहेको नयाँ पर्यटकीय गन्तव्य पञ्चकोट र शालिकग्राम संग्रहालयलाई लिन सकिन्छ । यी दुई गन्तव्यहरु निश्चय पनि धार्मिक भावनासँग जोडिएका छन् तर पर्यटनका निम्ति नयाँ उत्पादनको रुपमा स्थापित बनेका छन् । जसले गर्दा बागलुङ पुग्ने पर्यटकमात्र बढेका छैनन्, त्यसबाट व्यावसायिक गतिविधि पनि बृद्धि भएको छ । धार्मिक पर्यटन उद्योगले गति लिएको यो बेला पञ्चकोटबाट देशका अन्य पालिकाहरुले सिक्न सक्छन् । पर्वत जिल्लामा निजी क्षेत्रकै पहलमा विकास गरिएको साहसिक खेलकुदले पर्यटन विकासमा सघाएको छ । सधैँ मन्दिर डुलाएर वा हिमाल र ताल देखाएर पर्यटन उद्योग फस्टाउँदैन । पर्यटनलाई मानवीय गतिविधिसँग जोड्नैपर्छ । संस्कृतिका हरेक पाटा र आयामहरुलाई आतिथ्यता र व्यवसायसँग जोड्नेतर्फ व्यवसायी र सरकारले ध्यान दिँदामात्र पर्यटन उद्योगको दिगो विकास हुन्छ ।




