पोखरा/पोखरा ५ पस्र्याङस्थित शान्ति निकेतन स्कूलमा पूर्वआधारभूत तहका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
विद्यालयले शनिबार पूर्वआधारभूत तह (यूकेजी)का ५४ जना विद्यार्थीलाई दीक्षित गरेको हो । यस्तै, विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ९ सम्मका उत्कृष्ट विद्यार्थीलाई शैक्षिक पुरस्कार पनि वितरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका, शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले भौतिक पूर्वाधारको सुविधासहित गुणस्तरीय शिक्षाका लगि शान्ति निकेतन अघि बढेकोमा शुभकामना दिए ।
विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले अभिभावकहरुसँग विद्यालयको प्रगतिको खुशी साँट्दै आगामी योजनाबारे जानकारी गराए । २०६२ सालमा स्थापित स्कूलले २० वर्षे शैक्षिक यात्रामा गर्व गर्न लायक उपलब्धि हासिल गरिसकेको प्राचार्य पराजुली बताए ।
एकलधारा मार्गमा अवस्थित यो विद्यालय अब ६० करोड बजार मूल्य बराबरको जग्गामा १५ करोड लागतमा अत्याधुनिक सुविधासम्पन्न भवन बनाएर धारापानी मार्गमा विस्तार गर्न लागेको पनि उनले बताए ।
कार्यक्रमको अध्यक्षतासमेत गरेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भुत्र्यालले प्राचार्य र शिक्षकहरुको लगाव र विद्यार्थीको मिहिनेतले हासिल गरेको विद्यालयको शैक्षिक उपलब्धिमा सन्तुष्ट रहेको बताए । कार्यक्रमको सञ्चालन परीक्षा विभाग प्रमुख हेम सुवेदीले गरेका थिए ।




