पोखरा/पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले १२ कक्षाका विद्यार्थीलाई शनिबार एक कार्यक्रम गरी बिदाइ गरेको छ । १२ कक्षाको अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि बिदाइ कार्यक्रम आयोजना गरिएको हो ।
बिदाइ कार्यक्रममा विद्यालयका प्राचार्य डा. नारायण बरालले मदरल्याण्डमा कम्तिमा दुईवर्षको अवधि बितेको र त्यो समयले विद्यार्थीको भविश्यको बाटो देखाउने बताए । ‘कतिपय विद्यार्थीले नर्सरी देखि नै पढेका थिए । त्यो आधारमा कतिपयले १५ वर्ष त कतिपयले दुइवर्ष मदरल्याण्डमा अध्ययन गरेका छन् । अबको परीक्षाले विद्यार्थीको जीवनको बाटो कोर्नेछ,’ बरालले भने,‘विश्वविद्यालयको ढोका बल्ल खुल्न थालेको हो । विश्वविद्यालयको ढोका खुलेसँगै विद्यार्थीको भविश्यको बाटो पनि तय हुनेछ । विश्वविद्यालयको ढोकासम्म पुग्नका लागि अझै मिहिनेत बाँकी नै छ ।’
विद्यार्थीको भविष्य उज्जवल बनाउन विद्यालयले कक्षाकोठामा मात्र पठनपाठन सीमित नराखी ज्ञानको दायरा फराकिलो बनाउँदै बाहिरी ज्ञान दिलाएको पनि प्राचार्य बरालले बताए । त्यसका लागि विद्यालयले विद्यालयमा विभिन्न कार्यक्रम पनि गर्दै आएको उनले जानकारी दिए । विद्यालय संचालक समितिका अध्यक्ष प्रेमनारायण पोखरेलले जो कोहीले पनि संघर्ष गर्न सक्ने हो भने जीवन उज्जवल हुने बताए । ‘एकाध गल्ती र कमजोरी हुँदैमा जीवनसँग हार खानु हुँदैन,’ उनले भने, ‘कमजोरीलाई सुधारेर अघि बढेमा सफलता हात पर्छ ।’
विद्यालयका निर्देशक डा. त्रिभुवन शर्माले केहीवर्ष अघिसम्म विद्यालयको अध्ययन पूरा भएपछि विद्यार्थी र विद्यालयबीच सम्बन्ध पनि सकिने गरेकोमा अहिले भने सञ्चार सुविधाका कारण सम्बन्ध रहिरहने बताए । १२ कक्षाको परीक्षाको तयारीमा रहेको र अब बिदाई भएपनि विद्यार्थी र विद्यालयको सम्बन्ध कहिल्यै नसकिने उनले बताए ।
अबको चारमहिना पर्याप्त मिहिनेत गर्ने हो भने जीवन राम्रो बन्ने शर्माले बताए । विद्यालयले गरेको बिदाइ कार्यक्रममा कक्षा ११ का विद्यार्थीले विभिन्न सांगीतिक कार्यक्रम पनि पस्केका थिए ।




