बागलुङ/बागलुङ जेसीजको आयोजनामा गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगिता शुरु भएको छ । बाङेचौर खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा तिलकले गरे ।
सो अवसरमा बोल्दै उपाध्यक्ष थापाले खेल क्षेत्रको विकास खेलाडिहरुको प्रतिभा उजागर गर्नका लागि सबैको दायित्व भएको बताए । उनले राज्यले पनि खेल क्षेत्रको विकास र प्रवद्र्धनका लागि लगानी वृद्धि गर्न जरुरी रहेको बताए ।
कार्यक्रम बागलुङ जेसीज वर्ष २०२६ का अध्यक्ष अञ्जिला श्रेष्ठको अध्यक्षता एवम् स्वागत र कार्यकारिणी उपाध्यक्ष सुभम् राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो । १४ टोलीको सहभागिता रहेको प्रतियोगिता चैत २८ गतेसम्म संचालन हुने छ ।
प्रतियोगिताको पहिलो खेलमा कालीजंग गण घोडाबाँधेले हाइकर्स युनाइटेडलाई ४–१ गोलले पराजित गर्दै दोस्रो चरणका प्रवेश गरेको छ । कालीजंगका लागि दिपेन दियालीले ४ गोल गरे । हाइकर्सका लागि रोहन जिसीले सान्तवना १ गोल गरेका थिए ।
प्रतियोगिताको दोस्रो दिन मंगलबार बागलुङ सुधार केन्द्रविरुद्ध प्रबुद्व युवा क्लब र सेभन–एट फुटसलविरुद्ध आदर्श विद्यामन्दिर (एभिएम) र बागलुङ स्पोर्टस् क्लबविरुद्ध बागलुङ कालिका युवा क्लबबीच खेल हुने खेल संयोजक समेत रहेका सुभम् राजभण्डारीले जानकारी दिए ।
प्रतियोगितामा गण्डकी प्रहरी कास्की, पर्वतको पैयु फुटबल क्लब, बागलुङ युनिटी क्लब, बागलुङ स्पोर्टस् क्लब, होली चाइल्ड स्कल, बागलुङ कालीका युवा क्लब र जोय स्टोर्स गहते फुटबल क्लबले सहभागिता जनाएको संयोजक राजभण्डारीले जानकारी दिए ।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । सेमिफाइनमा पुग्ने टोलीलाई नगद १२÷१२ हजार रुपियाँ प्रदान गरिने छ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडि र अनुशासित टोलीलाई नगद १०÷१० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, मिडफिल्डर र डिफेन्डरलाई नगद ५÷५ हजार रुपियाँ र ट्रफी प्रदान गरिने भएको छ ।





