पोखरा/यही चैत २७ र २८ गते कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २३, बाम्दी क्षेत्रमा साहसिक मोटरबाइक खेल ‘एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६’ आयोजना हुने भएको छ । यस प्रतियोगिता एड्भेन्चर स्पोर्टस् हब नेपालको आयोजना तथा पञ्चासे आदर्श क्लब र नील गगन विकास समाजको सह–आयोजनामा सञ्चालन हुँदैछ ।
प्रतियोगिता डर्ट बाइक (अफ–रोड मोटरसाइकल) प्रयोग गरी चुनौतीपूर्ण प्राकृतिक भू–भागमा गरिने खेल हो । प्रतियोगितामा राष्ट्रिय स्तरका र अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी अफ–रोड राइडरहरूको सहभागिता रहने र अहिलेसम्म ६१ जना राइडरहरू दर्ता भइसकेका सोमबार आयोजित पत्रकार सम्मेलनमा च्याम्पियससिपका रेस डाइरेक्टर तथा एड्भेन्चर स्पोर्टस् हब नेपालका डिरेक्टर जगत धोलीले जानकारी दिए । उनका अनुसार हालसम्म करिब ९० प्रतिशत तयारी सकिएको र प्रतियोगिताको अभ्यास तथा ट्रयाक परीक्षणका लागि चैत २ गतेदेखि नै खेलाडीहरूका लागि ट्रयाक खुला गरिएको छ ।
पत्रकार सम्मेलनमा च्याम्पियनसिपको ट्रफीसमेत सार्वजनिक गरिएको छ । नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठेले ट्रफि सार्वजनिक गरे ।
प्रतियोगिता ४.८ किलोमिटर लामो विशेष ट्रयाकमा पुरुष र महिला दुवै विधामा खेल खेलाइने छ । प्रतियोगिता सम्पन्न गर्न करिब ३६ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५० हजार दोस्रो पुरस्कार १ लाख र तेस्रो पुरस्कार ५० हजार रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ ।





