सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

रोकिन नजानेका धर्मराजको यो कथा

रोकिन नजानेका धर्मराजको यो कथा

धर्मराज पोखरामा गृहलक्ष्मी ग्याससँगमात्र हैन, होटल र हेलिएयर पनि संचालन गर्छन्


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०८२, बुधबार

पोखरा/उनी जन्मनुभन्दा १५ वर्षअघि नै त्रिभुवन राजपथमा गाडी गुडिसकेका थिए । मकवानपुरको जिल्लाको तत्कालीन नामटार गाविस ४ मा बस्ने पुण्यशिल बर्तौला ३ घण्टा जति हिँडेर त्रिभुवन राजपथ पुग्थे । त्यहाँबाट भारत हानिन्थे,मट्टितेलका टिन बोकेर फर्कन्थे र गाउँमा बेच्थे । टुकीको जमाना थियो,मट्टितेल बिकीहाल्थ्यो । श्रीमती गोमा बर्तौलासहित सात भाइ छोरा र ४ छोरी हुर्काउनु जो थियो ! खेतीपातीबाट फुर्सद हुनासाथ पुण्यशिल भारत पुग्थे । हुर्केका छोराहरुले पिताको सिको गरे । पछि राजमार्ग छेउमै सानोतिनो गल्ला (खाद्यान्नको दुकान ) खोले ।

उनी अर्थात् धर्मराज बर्तौला । सम्पदा ग्रुपका कार्यकारी निर्देशक । इन्धनदेखि इलेक्ट्रीसिटी,होटलदेखि हवाइ उडान,उद्योगदेखि कृषिसम्म हात हालेको यो समूहको न्वारान भएको धेरै भएको छैन । ‘सम्पदा’ अध्यक्ष धर्मराजजत्तिको चर्चित पनि छैन तर धर्मराजको सपना चाहिँ जोडिएको छ ।

पहिला धर्मराजकै कुरा किन नगर्ने ? पुण्यशिलका कान्छा छोरा हुन्–धर्मराज । मकवानपुर जिल्लाको अहिलेको भीमफेदी गाउँपालिका ४ मा जन्मे । नामटारमै ४ सम्म पढे । बाँकी कक्षा पढ्न चितवन झरे । एसएससी चाहिँ मकवानपुरबाट छिचोले । पिताले मट्टितेल बेचेको देखेकै थिए । व्यापार पैसा छ भन्ने पनि थाहा थियो । उनले कमर्स रोजे । ताहाचल क्याम्पसबाट आइकम सिध्याए । बीकममा चाहिँ ब्याक लाग्यो । २०४५ सालतिरको कुरा हुनुपर्छ, साहिँला दाइ बलरामको नेतृत्वमा बर्तौला परिवारले भण्डारामा स्यार्सेकालिका आयल डिष्ट्रिब्यूटरको नाममा पेट्रोल पम्प खोल्यो । त्यो बेला इन्धन बेच्न आयल निगमबाट स्वीकृति पाउनु चानचुने कुरा थिएन । कागजपत्र बोकेर धर्मराज कयौंपटक सरकारी कार्यालय धाए । बैंकबाट कर्जा पास गराए । महेन्द्र राजपथ भर्खरै खुलेको बेला । डिजेलको कारोबार राम्रै भयो । त्यो बेला दिनको ३ हजार ३५ सय लिटर डिजल बेच्नु सामान्य कुरा पनि थिएन नि ! स्यार्सेकालिकाको आशिर्वाद लाग्यो । धर्मराजहरु पँखेटा फिँजियो । विराटनगरदेखि फुङलिङसम्म स्यार्सेकालिकाका शाखा खुले । व्यवसाय चल्दै थियो । देशमा द्वन्द्व पनि त फैलँदै थियो नि ! मित्र भीम घिमिरेले बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोमा काम गर्न सुझाए । जनसम्पर्क अधिकृतको रुपमा धर्मले ५५ देखि ६४ सम्म सिनोमै बिताए ।

‘सिनोले मलाई धेरै कुरा सिकायो,पैसा पनि राम्रै हुन्थ्यो,’साउने झरीको एक बिहान कफीको चुस्की लिँदै उनी मुस्कुराए । त्यसपछि चाहिँ उनले आफूले कसरी ‘बिग मास्टर वाइन’लाई ब्राण्ड बनाएँ भन्ने सुनाए । खासमा त्यो उनको कम्पनी थिएन । कम्पनीका साझेदारबीच कुरा नमिलेपछि एउटा साथीले उनलाई गुहारे । आपसी झगडा मिलाएपछि कम्पनीको व्यवस्थापन हेर्ने प्रस्ताव आयो । धर्मले माइली छोरी ऋतु र साहिँली दिव्यालाई कम्पनीको व्यावसायिक योजना बनाउन लगाए । भर्खरै पढाए सकेका छोरीहरुले मिहिनेत गरे । बिग मास्टर ब्राण्ड बन्यो ।

धर्म भाग्य अज्माउँदै थिए । एकाएक उनी पोखराको गगनगौंडामा रहेको गृहलक्ष्मी ग्यास कम्पनी प्रालिसँग जोडिन आइपुगे । गृहलक्ष्मी ग्यास कम्पनीका संचालकहरु व्यवसाय छाड्ने मुडमा थिए । संचालक योगेन्द्र पालिखेसँग धर्मको भेट भयो । पिता मट्टिलेत बेच्थे, दाजु र धर्मले डिजेल बेचेकै थिए । धर्म इन्धनको नयाँ व्यवसायमा जोडिने निर्णयमा पुगे । योगेन्द्रको प्रस्ताव स्वीकार्दै २०६७ सालमा गृहलक्ष्मी ग्यास कम्पनी आफ्नो बनाए ।

‘पोखराको व्यवसायमा हात हालेपछि म यताको पनि भएँ, यसमा स्वर्गीय योगेन्द्र पालिखेको ठूलो योगदान छ,केही भावुक हुँदै उनले भने,‘जेठी छोरी वर्षाले त्यसको व्यवस्थापनमा सघाइन् । १६ करोड जति लगानी भएको कम्पनीले राम्रै ग¥यो,गरिरहेको छ ।’ गृहलक्ष्मी कम्पनी संचालनमा छोरी वर्षाको साथ थियो । तर, वर्षा विरक्तिइन् । सानो काममा पनि भाँझो हाल्ने कर्मचारीको पारा देखेपछि उनी नेपाल नबस्ने निर्णयमा पुगिछन् । ‘अहिलेका पुस्ता सरकारी दवाबमा काम गर्दैनन्,’धर्मले थपे,‘एउटै काम गर्न २० ठाउँमा धाउनुपर्ने,नजराना चढाउनुपर्ने कुरा उनीहरुलाई पच्दैन ।’ आफ्नो हकमा नि ? धर्मले थपे,‘अहिलेसम्म कसैलाई एक पैसो दिएर काम मिलाएको छैन ।’

धर्मलाई गृहलक्ष्मीले पोखरा चिनायो । गृहलक्ष्मीलाई घरघर पु¥याउन र गण्डकीको ब्राण्ड बनाउन उनले मिहिनेत खन्याए । अहिले गृहलक्ष्मी चुलोको पर्याय बनेको छ । धर्मले चाहिँ यही मौकामा पोखराको ‘हस्पिटालिटी’ व्यवसायतिर चिहाए । प्रकृतिले यति राम्रा कुरा दिएको छ । त्यसलाई बेच्न सक्दा राम्रै हुन्छ भन्ने सोच पलायो । सोचेपछि गरिहाल्ने बानी । दीपक शर्मा भन्ने साथीले थाइल्याण्डमा बुटिक होटल चलाउने प्रस्ताव ल्याए । धर्मले साथ दिए । थाइल्याण्डको फुकेटको कोताङ बिचनेर उनीहरुले भाडामा कोको बुटिक होटल संचालनमा ल्याए ।

‘होटल चलिरहेको छ । २०२६ को मेसम्म सवै कोठा बुक छन्,’उनले भने । नेपालमा नि ? बल्ल उनी सम्पदा हस्पिटालिटी ग्रुपसम्म आइपुगे । सम्पदाले पोखराको लेकसाइडमा २५ करोडको लगानीमा सम्पदा होटल बनाउँदै छ । काम अन्तिम चरणमा पुगेको छ । उता, सम्पदाकै ब्राण्डमा भीमफेदीमा थ्रिस्टार लेभलको रिसोर्ट बन्दै छ ।‘गाउँकै दूध,तरकारी खुवाउने गरी रिसोर्ट बनाएको हो ।’ सम्पदाकै नाममा नेपालगञ्जमा साबुन उद्योग पनि सुरु भएको उनले खुलाए ।

यो सम्पदा के हो ? उत्तरमा उनले भने,‘यो माटोको माया हो, हाम्रो देशको विविधता र सम्पत्ति हो ।’ नाममा आखिर के पो हुन्छ र ? हुने त कर्ममा हो । धर्ममा विश्वास गर्ने धर्म यतिबेला एकसाथ पोखरामा पर्यटकलाई घुमाउने हेलिएयर चलाइरहेका छन् । ग्यास बिक्रीसँगै हाइड्रो पावरमा लगानी बढाइरहेका छन् ।

‘सम्पदामार्फत् एडभेन्चर,इन्टरटेनमेण्टसहित खाना,नाना र छाना उत्पादन गर्ने लक्ष्य छ,’ उनले भने, ‘४ जना छोरी विदेशतिर छन् । म चाहिँ देशमा केही गरौँ भनेर लागिरहेको छु ।’

धर्मसँग काम गर्न खोज्नेहरुको ताँती पनि लामै छ । ८ सय जनालाई रोजगारी दिने ५९ वर्षीय यी युवा हालै उद्योगीहरुको संस्था नेपाल उद्योग परिसंघ,गण्डकीको अध्यक्ष बनेका छन् । बिहान चाहिँ यी सखारै उठ्छन् । दिनभर दिमाग लडाउँछन् र राति साढे ८ बजेतिर सुतिसक्छन् ।

‘एकदिन यो सव छाडेर जाने हो भन्ने मलाई थाहा छ तर कर्म गरिरहनुपर्छ,’उनी धार्मिक सुनिए । र, थपे,‘मृत्यु निश्चित छ । सकेसम्म सवैको भलो गरौँ भन्ने हो । श्रीमतीले मानव सेवा आश्रममार्फत् केही गरेकै छन् । मेरो साथ छँदैछ । जुन माटोमा जन्मेँ,त्यही माटोलाई माया गर्नुपर्छ । मसँग ठूलो मोह छैन ।मसँग यस्तो कुरा छ भन्ने कल्पना नै गर्दिन ।’

उनी देखिए पनि त्यस्तै । साँच्चै आनन्द भनेको यही हो त ?

उनले थपे, ‘मलाई अहिले पनि मकवानपुरको नामटारमा हुँदा घाँस काटेको र बोकेको भारी चौतारीमा बिसाउँदा पाएको आनन्दभन्दा ठूलो केही लाग्दैन । त्यो बेला कतैबाट सुनिएको सुसेली र गीतले कम्ता आनन्द दिँदैनथ्यो ! म त्यो रमाइलो सम्झन्छु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->