पोखरा/ पोखराको सिमलचौरस्थित लिटिल स्टेप सेकेन्डरी स्कूलले ‘लिटिल स्टेप ७– ए साइड फुटबल तथा टेबल टेनिस प्रतियोगिता २०८२’ गर्ने भएको छ ।
विद्यार्थीमा खेलकुद भावना, अनुशासन, नेतृत्व क्षमता, टिमवर्क तथा स्वस्थ प्रतिस्पर्धाको विकास गर्नुका साथै विद्यालयस्तरका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उपयुक्त मञ्च प्रदान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको विद्यालययले जनाएको छ ।
चैत २८ र २९ गते विद्यालयको आफ्नै खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा विहीबारसम्म फुटबलतर्फ ३३ टीमले नाम दर्ता गराइसकेको विहीबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो । प्रतियोगितामा सहभागी टीमलाई निशुल्क दर्ताको व्यवस्था गरिएको छ ।
विद्यालय व्यवस्थापन समिति सदस्य डा.कैलाश तिमिल्सिनाका अनुसार फुटबलतर्फ प्रथम हुने टिमलाई ६ हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र, द्वितीय हुने टिमलाई ४ हजार नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरी टेबल टेनिसतर्फ प्रथम हुने खेलाडीलाई २ हजार नगदसहित ट्रफी तथा प्रमाणपत्र, द्वितीय हुनेलाई १५०० नगदसहित ट्रफी तथा प्रमाणपत्र र तृतीय हुनेलाई १००० नगदसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको उनले बताए ।
लिटिल स्टेप सेकेन्डरी स्कूलले यस प्रतियोगितामार्फत विद्यालयस्तरीय खेलकुदको प्रवद्र्धन गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुरÞ्याउने अपेक्षा राखेको प्रिन्सिपल पम्फा गुरुङले बताइन् । विद्यालयका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले खेल क्षेत्रमा नवप्रतिभाको पहिचान भएर जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तराष्ट्रियस्तरसम्म पु¥याउन सकिने उद्देश्यसाथ प्रतियोगिता आयोजना गरिएको बताए । विद्यालय ४४ वर्षअघि स्थापना भएको थियो ।





