पोखरा/२०३८ सालको जेठको अन्तिम साता पोखरामा भएको एउटा निर्मम हत्याले सिंगो देश नै स्तब्ध बन्यो । काठमाडौंबाट घुम्न आएका दुई किशोरीहरुमाथि बलात्कारपछि भएको त्यो हत्याको प्रसङ्ग सुन्दा पनि आँङ सिरिङ्ग हुन्छ । जेठ २९ गते पोखराको पृथ्वीनारायण क्याम्पसमुनिको खोंचमा अर्धनग्न फेला परेको शव र शवसँगै रहेको लेडिज ब्यागमा भेटिएको परिचयपत्रले ती किशोरी नमिता भएको खुल्यो । छोरी खोज्न आएका पिता माधवराज भण्डारीले हत्याको प्रत्यक्षदर्शी वन कार्यालयका पाले चूडामणि अधिकारी भएको पत्तो लगाए । उनलाई वन कार्यालयमै गएर भेटे तर त्यही बेला आएको प्रहरीले दुबैलाई जिल्ला प्रहरी कार्यालय लग्यो । हिरासतमा राख्यो र भोलिपल्ट १० बजेको तारेख दिएर छोड्यो । तर, असार ५ गते घरबाट प्रहरी कार्यालय जान हिँडेका चूडामणि त्यसपछि कहिल्यै घर फर्केनन् । यता, चुडामणि हराए उता असार ६ गते माधवकी कान्छीछोरी सुनिताको सुनिताको शव पनि सेती बगरमै भेटियो । नमिता–सुनितासँगै घुम्न निस्केकी निरा पराजुली अहिलेसम्म बेपत्ताकै सूचीमा छन् ।
देश नै हल्लाउने त्यो नमिता–सुनिता हत्याकाण्डको रहस्य कहिल्यै सुल्झिएन । बरु, शाही शासनकालमा त्यो फाइल गोप्यरुपले बन्द गरियो ।
नमिता–सुनिताको विभत्स हत्याले पोखरा देशकै असुरक्षित सहरको रुपमा कलंकित बन्यो । खोंच नै खोंच भएको पोखरामा मान्छे आउन डराउन थाले । कतिसम्म भने घुम्न आएका पर्यटकहरु पनि साँझ पर्नुपूर्व नै सुरक्षित ठाउँमा पुग्ने अवस्था सिर्जना भयो ।
लाहुरेको सहर पोखरा ! बिस्तारै आधुनिकतातर्फ लम्कँदै थियो । सहरीकरण बढ्नु भनेको अपराधमा बढोत्तरी हुनु पनि हो । हिप्पीकालीन संस्कृतिसँग लसपस गरेको पोखरामा लागुऔषध सेवनको समस्या पनि उस्तै थियो । लेकसाइडका गल्लीहरुमा हिँड्ने दुव्र्यसनीहरुका कारण पनि पोखरा असुरक्षित सहरमा दर्ज भयो । सानातिना झैझगडा र टोले गुण्डाहरुको कारण पनि पोखरा बेलाबेलामा चर्चामै रह्यो ।
तर, बिस्तारै समय फेरियो । सहर घना हुँदै गयो । हिजो एक्लै हिँड्न डराउनुपर्ने ठाउँमा पनि घर बने । मान्छेहरुले केही सुरक्षित महसुस गर्न थाले । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित पोखराको मुख्य सहरी क्षेत्रमा रातभर नै मान्छे निर्धक्क हिँड्ने वातावरण पनि बन्यो ।
देवीकुमारी बरालले ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नं. २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था’लाई आधार बनाउँदै पोखरालाई २४ सै घण्टा खुल्ला राख्न उच्च अदालत पोखरा गुहारिन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाएर दिइएको सो निवेदनको आधारमा २०८० साल कात्तिक २२ गते उच्च अदालत कास्कीले पोखरा २४ सै घण्टा खोल्ने आदेश दियो ।
पोखरालाई २४ सै घण्टा खुल्ला राख्नुपर्ने आवाज चर्को बन्दै गएको बेला व्यवसाय २४ सै घण्टा खोल्न दिन उच्च अदालत पोखराले आदेश दिएको छ । मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानूनविपरीतको कार्य भएको अवस्थामा बाहेक निवेदकलाई कानूनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा आदेश दिएको थियो ।
पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खुल्ला रहने भनिए पनि केही सीमित क्लब,रेष्टुराँ र होटलबाहेक अन्यको हकमा भने अहिले त्या नियम लागू भएको छैन । प्रहरीले सुरक्षा प्रबन्धमा आउने जटिलता, आवश्यक जनशक्तिको अभाव तथा सुुरक्षा प्रबन्धको लागि आवश्यक पर्ने भौतिक पूर्वाधारको अभावको कारण देखाउँदै सामान्यतयाः राति १२ बजेपछि धेरैजसो व्यवसायहरु बन्द गराउँदै आएको छ ।
पोखरामा बुधबार साँझ भएको एउटा घटनाले साँच्चै प्रहरीको भनाइमा सत्यता देखिएको छ ।
बुधबार साँझ ७ बजेर ८ मिनेटतिर मुख्य बजार क्षेत्र पोखरा ८ शिवालय चोकनेर एक युवतीमाथि खुकुरी प्रहार भयो । गल्लीमा उभिएकी पोखरा ५, मालेपाटनकी ४२ वर्षीय सिर्जना पौडेल केसीलाई अपरिचित व्यक्तिले एक्कासी प्रहार गरेर भाग्यो । घाइतेलाई नजिकको अस्पताल गण्डकी मेडिकल कलेज पु¥याइयो तर उनी जीवित रहिनन् । यो घटनापछि पोखरा पुनः त्रसित बनेको छ । घटनामा संलग्नहरु फरार छन् । सामाजिक सञ्जालतिर ती युवतीले हत्या हुनुअघि अर्की महिलासँग कुरा गरेको भिडियो छ्यासछ्यास्ती भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार प्रहरी अहिले अनुसन्धानमा जुटेको छ । केही व्यक्तिलाई पक्राउ र केहीसँग सोधपुछ गरिएको पनि प्रहरीको भनाइ छ । विभिन्न कोणबाट त्यो घटना किन र कसले गरायो भन्नेबारे प्रहरी अनुसन्धानमा जुटिरहँदा ‘पर्यटकीय नगरी’ पोखराको अर्को सुरक्षा कमजोरी बाहिरिएको छ ।
प्रहरीले वरपरका घरमा रहेका र सार्वजनिक भएका सिसि क्यामेराहरुबाट खिचिएको भिडियो अध्ययन गरिरहेको छ तर ती भिडियोहरु प्रष्ट छैनन् । कास्की प्रहरी प्रवक्ता डीएसपी बस्नेत भन्छन्,‘नगरलाई सुरक्षित राख्न र प्रमाणहरु संकलनको लागि सिसि क्यामेरा महत्वपूर्ण हुन्छन् तर पोखरामा रहेका अधिकांश सिसि क्यामेरा काम लाग्ने अवस्थामा छैनन् र अनुसन्धानको लागि गाडीको नम्बर प्लेटमा रहेको नम्बर पनि पहिचाना हुने ३६० डिग्री भ्यूजका क्यामेरा चाहिन्छन् । त्यो नहुँदा अनुसन्धानमा कठिनाइ भएको छ ।’
पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटमा सहरमा सिसि क्यामेरा राख्नको लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो । प्रहरीसँगको सहकार्यमा सिसि क्यामेरा जडान गर्ने तथा सहरमा सडक बत्तिका निम्ति भन्दै विनियोजित २५ लाख रुपैयाँ कहाँ खर्च भयो ? प्रहरीलाई जानकारी छैन । योजना अनुसार काम भएको भए, अन्तिम चौमासिकमा सिसि क्यामेराको लागि ६० लाख रुपैयाँ विनियोजन हुनुपथ्र्यो ।





