शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

खुलातर्फ दार्चुलाका मुकेश थापा प्रथम, विदेशीतर्फ फ्रान्सका स्याम्यूल विजेता

खुलातर्फ दार्चुलाका मुकेश थापा प्रथम, विदेशीतर्फ फ्रान्सका स्याम्यूल विजेता


  • ढाेरपाटन संवाददाता
  • चैत्र २९ २०८२, आइतबार

पोखरा/ पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भएका छन् ।

फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका धावक सहभागी थिए ।

‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ उद्घोषका साथ शनिबार राति ७ः२९ बजे बाराहीघाटदेखि सुरु भएको दौडमा खुलातर्फ दार्चुला २९ बर्षीय मुकेश थापा प्रथम हुन सफल भए । उनले निर्धारित दूरी १७ः३१ः६७ मिनेटमा पूरा गरे । यसैगरी, सुवास गुरुङले १७ः५४ः२५ मिनेटमा पूरा गर्दै दोस्रो हुँदा अकलबहादुर पाल तेस्रो भए । उनले उक्त दूरी पूरा गर्न १८ः०२ः०३ मिनेटमा पारे ।

पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा भएको खेलकुद र पर्यटन प्रवद्धर्नका लागि आयोजित नेपालकै पहिलो दौडमा महिलातर्फ २३ः०३ः५४ मिनेटमा पूरा गर्दै पुष्पा शर्मा लिम्बु प्रथम हुन सफल भइन् । यू–१६ तर्फ राम ढुंगाना र विदेशी तर्फ फ्रान्सका स्याम्यूल प्रथम भए । रामले २४ः३९ः६० मिनेट तथा स्याम्यूलले २२ः०८ः०७ मिनेटमा दौड पूरा गरेको प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले जानकारी दिए ।

खुलातर्फ विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले पाँचहजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी अन्य विधाका विजेतालाई जनही ७/७ हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार प्रदान गरियो । प्रतियोगितामा उत्कृष्ट २० धावकले फिस्टेल ड्रिम पार्ककातर्फबाट एकहजार बराबरको कुपन र बन्जीकातर्फबाट फ्रान्सकी खेलाडी वेनिडिडले बन्जीकुपन समेत हात पार्न सफल भइन् । बाराहीघाटदेखि शुरु भएको लेकसाइडको सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सृजनाचोक, सभागृहचोक, न्युरोड, चिप्लेढुंगा हुँदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्क (फल्चा) मा पुगेर समापन भएको हो ।

विजयी खेलाडीलाई पोखरा–९ वडाध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा–३ का वडाध्यक्ष प्रकाश उदास, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव शोभा गौतम, रेवान पोखराका प्रथम उपाध्यक्ष वसन्त गौतम, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, महानगर व्यवसायीक प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा, फिष्टेल ड्रिम पार्कका जनरल म्यानेजर अंकितकुमार सिंह, गो बन्जी नेपालका राकेश गुरुङ, नेपाली लेखक संघ कास्कीका अध्यक्ष कमल पौडेल, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबा, नेलम्बो नेपालका कार्यक्रम अधिकृत भीम भण्डारी, एथ्लेटिक्स संघ गण्डकीका महासचिव मनबहादुर थापालगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगिता संयोजक दीननाथ बरालले खेल प्रवद्र्धनसहित पर्यटकीय राजधानी पोखरा सुरक्षित छ भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरिएको जनाए । समापन समारोहमा पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले कार्यक्रमलाई आगामी वर्षमा अझ भव्य रूपमा आयोजना गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने बताए । पर्यटनविज्ञ दीपेन्द्र पहारीले पर्यटकीय राजधानी पोखरामा यस प्रकृतिका इभेन्टले पोखरा पर्यटन प्रवद्र्धनका लागि २४ सै घण्टा सुरक्षित र सञ्चालित छ भन्न सार्थक रहने धारणा राखे ।

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, राष्ट्रिय ओलम्पिक एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङ, पोखरा भ्रमण वर्ष २०२५÷०२६ का संयोजक गोपीबहादुर भट्टराई लगायतले रेस डाइरेक्टर ओम गुरुङलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरी प्रतियोगिता शुभारम्भ भएको थियो । उद्घाटन सत्रमा पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, पोखरा ८ का अध्यक्ष रुद्रनाथ बराल, पोखरा महानगरका मेयर धनराज आचार्यका स्वकीय सचिव पूर्ण लामालगायतको शुभेच्छा रहेको थियो ।

पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले पोखरा नाइट स्ट्रिट रेसले शहरी गतिशीलता, शान्ति–सुरक्षा, व्यावसायिक प्रवद्र्धन र स्वस्थ जीवनशैलीप्रतिको जागरूकतालगायतका शक्तिशाली सन्देश प्रवाह मात्र नभएर पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्षमा प्रर्वद्धनात्मक नयाँ कार्यक्रम सञ्चालनमा छन् भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य तथा पोखरा–९ वडा कार्यालयको समन्वयमा भएको प्रतियोगितामा विभिन्न संघ–संस्थाले सहयोग गरेका थिए । जसमा पोखरा महानगरपालिका र पोखरा भ्रमण वर्ष २०२५/२६ प्रवद्र्धकका रूपमा रहेका थिए ।

प्रतियोगितामा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, फिस्टेल ड्रिम पार्क, शान्ति निकेतन स्कुल, हिमश्री फुड्स, चाइनिज गार्डेन रेष्टुरेण्ट, सहारा क्लब, होटल संघ पोखरा नेपाल, अटोवेज प्रा.लि., सिटीजन फर्निचर, टेम्पल ट्रि रिसोर्ट, समियोग टुरिष्ट रिसोर्ट, पोखरा वडा नम्बर ३, ५, ६, ७, ८, ११, पोखरा पर्यटन परिषद, पोखरा महानगर खेलकुद विकास समिति, पोखरा उद्योग बाणिज्य संघ, रेवान पोखरा, टान गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरेली ट्याक्सी सेवा प्रा.लि, परिचय एड्भटाइजिङ, कर्माचार्य ग्रुप, साइकल सिटि पोखरा, गल्फ खेलाडी भक्तबहादुर गुरुङ, नाट्टा गण्डकी, नेपाल हवाई खेलकुद संस्था (ना), वेन्जन रेष्टुरेण्ट, गो वन्दी नेपाललगायतको सहयोग रहेको केन्द्रका सचिव सागर सुनारले जानकारी दिए । प्रतियोगितामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर र नेलम्बो नेपाल मेडिकल पार्टनरका रूपमा रहेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->