
पोखरा/वैदेशिक रोजगार शाखा संरक्षण संघ, गण्डकी प्रदेश, पोखरा–कास्कीको आयोजनामा नववर्ष २०८३ सालको अवसरमा सञ्चालन गरिएको अन्तर–व्यवसायी कर्मचारी पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।
प्रतियोगिताको पुरुष खुल्ला (ओपन) तर्फ एसबी गाइज प्रथम तथा ब्रदर युनाइटेड÷युनाइटेड ब्रोज (बी) द्वितीय भएका छन् । त्यस्तै भूतपूर्व (भेट्रान्स) तर्फ पोखरा भेट्रान्स (रातो) प्रथम बनेका छन् । महिला तर्फ फ्युचर स्टार प्रथम र पोखरा क्वीन्स द्वितीय स्थान हासिल गर्न सफल भएका छन् ।
यसैगरी, प्रतियोगितामा उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको छ । उत्कृष्ट महिला खेलाडी आकृति थापा (आकु) घोषित भइन् भने महिलातर्फ उत्कृष्ट स्पाइकर अस्मिता थापा र पुरुषतर्फ उत्कृष्ट स्पाइकर सन्तोष पोख्रेल बने । प्रतियोगिताको उत्कृष्ट खेलाडी (सर्वश्रेष्ठ खेलाडी) को उपाधि विकास रेग्मीले प्राप्त गरेका छन् ।
कार्यक्रमका अवसरमा आयोजक संस्थाका अध्यक्ष सुजन श्रेष्ठले प्रतियोगिताको सफलताप्रति खुशी व्यक्त गर्दै खेलकुदले मानिसहरूबीच एकता, सहकार्य र आपसी सम्बन्ध सुदृढ बनाउने बताए ।





