नेपालमा ५० लाखभन्दा बढी मानसिक समस्याबाट प्रभावित मानिसहरु रहेको अनुमान गरिएको छ । विषय यति गम्भिर छ की ७० प्रतिशतको हाराहारीका बिरामीहरु उपचारको सहज पहुँचमा छैनन् । मानसिक रोगलाई कडा र कम कडा किसिमको रहेको बुझिन्छ । कडा खालको मानसिक रोगमा सन्तुलन घुमेको अर्थात् साइकोसिस रोग भनिन्छ । डिप्रेसन र एन्जाइटी कम कडा रोगको रुपमा लिइन्छ । नेपालमा कडाभन्दा कम कडा बिरामीहरुको संख्या बढी रहेको पाइन्छ । यो समस्यालाई बेलैमा उपचार गरेमा सहजै निको हुन्छ । यसका लागि समुदायमा पर्याप्त सचेतना तथा विशेष अभियान संचालन जरुरी देखिएको छ । अवस्था यस्तो देखिन्छ की आत्महत्याको मुख्य कारण डिप्रेसन देखिएको छ । मानसिक रोग न्यूनिकरण र नियन्त्रणका लागि वडा तहमा मनोविमर्श सेवा तथा अस्पतालहरुमा मेन्टल हेल्थ सर्भिस आवश्यक देखिन्छ ।
नेपाली समाजमा पनि लागूपदार्थ, जाँड–रक्सीसंगै चिन्ता, डरत्रास, डिप्रेसन जस्ता समस्या ब्यापक छन् । यिनै समस्या भयावह बन्दै जाँदा आपराधिक घटनाहरु समेत घट्न सक्ने परिस्थिति छ । सामाजिक सञ्जाल र अनलाइन गेमको लतले खासगरी किशोर तथा युवाहरु डिप्रेसनमा पुगेको देखिन्छ । परिस्थिति यस्तो पनि बन्दै गैरहेको देखिन्छ की मस्तिष्कमा आपराधिक सोच समेत देखिने गरेको छ । यो परिस्थितिलाई कसरी नियन्त्रणमा राख्ने भन्ने सवाल अहिले हामी सबैको साझा चासो र सरोकारको विषय बनेको छ र हुनुपर्छ ।
राजनीतिक अस्थिरता, सामाजिक, आर्थिक तथा रोजगारीको समस्याले पनि समाजमा समस्या ल्याएको छ । गरिबी, हिंसा, वैदेशिक रोजगारीका कारण पारिवारिक बिखण्डन, द्धन्द्धको पिडा र सामाजिक लाञ्छनाका कारण पनि रोगीको संख्या बढ्दै गैरहेको छ । समाज, शिक्षा, बुझाई र चेतनास्तरले पार्ने प्रभावका बारेमा हामी गम्भिर बन्दै समस्या समाधानका ठोस योजना बनाउन लाग्नु पर्दछ । अब राजनीतिले मात्र परिस्थिति बिग्रियो भनेर आलोचना र नकारात्मक टिप्पणी गरेर समय बर्वाद गर्न हुदैन ।
मानसिक समस्या भएमा लुकाउनु र मानसिक समस्यालाई व्यक्ति स्वयम्ले पहिचान गर्न नसक्नु अहिलेको समस्या हो । त्यसमा पनि मानसिक रोग देखिएमा औषधी खान मन नगर्नु झन् ठूलो समस्या हो । कुनै बिरामीलाई मानसिक समस्या देखिएमा उसले औषधी सेवन गरेमा उसलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहार अर्को समस्या बन्ने गरेको छ ।
मानसिक रोगको औषधी र थेरापीबाट उपचार गरिन्छ । मानसिक समस्यामा धेरै एन्जाइटी र डिप्रेसनका लक्ष्यण देखिने गरेको पाइन्छ । यि दुवै समस्याको लागि सधैंभरि औषधी खानु पर्छ भन्ने पनि छैन । हामीले बुझ्नु पर्ने र बुझाउनु पर्ने कुरा डाक्टरले दिएको औषधी खानु पर्छ । औषधीको आवश्यकता नपरेमा डाक्टरले नै लेख्दैनन् । हामीले यो पनि बुझ्नु र बुझाउनु पर्छ की सोच, भावना र व्यवहारका कारण हाम्रो दैनिक जीवनमा असर पर्न थाल्यो भने, खानपिन र निद्रामा गडबडी देखियो भने मानसिक डाक्टरको सम्पर्कमा पुग्नु पर्दछ । यो अवस्थामा हामीले मनोसामाजिक परामर्शकर्तासंग पुयौं भने पनि उचित सल्लाह पाउन सक्छौं ।
मन आत्तिने, ढुकढुक हुने, स्वासप्रश्वासमा गाह्रो हुने, मनमा कुरा खेल्ने भएमा हामीलाई एन्जाइटी भएको हुन सक्छ । यी लक्ष्यण बढ्दै गएमा मनमा फूर्ति नहुनु, उदासी लाग्नु, नकारात्मक सोच र भावना आउनु, निन्द्रामा समस्या जस्ता लक्ष्यण लामो समय देखिए डिप्रेसन हुन सक्छ । यो अवस्थामा हामीले मनोसामाजिक परामर्शकर्तासंग सल्लाह लिनुपर्छ । नजिकको स्वास्थ्य चौकी वा मनोचिकित्सकसंग जाँच गराउनु पर्छ ।
हामीले पछिल्लो समय समाजको अवस्था नजिकबाट बुझेपछि २० जना मनोविमर्शकर्ताको तालिम सञ्चालन गरेका थियौं । मानसिक स्वास्थ्य तथा मनोविमर्शकर्ता सेवा जस्तो संवेदनशिल विषयलाई राज्यका अन्य निकायले पनि थप सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु । मानसिक तथा मनोसामाजिक सेवा प्रदान गर्ने गरी गरिएको तालिमबाट आएका उनीहरुलाई दक्ष जनशक्तिका रुपमा क्रियाशिल बनाउन सकियो र प्रत्येक विद्यालयमा विद्यार्थी मनोविमर्श कक्ष स्थापना गरी मनोविमर्शकर्ता राख्न सकियो भने अहिलेको समस्यामा राम्रो प्रगति हुने देखिन्छ ।
अहिले बालबालिकाहरुमा अनिद्राको समस्या देखिदै गएको छ । इन्टरनेटको प्रयोगले लत लागेको कारण उनीहरु एकोहोरो हुने, आक्रामक बन्ने, रिसाउने, आँखा रातो हुने, दुब्लो र मानसिक स्वास्थ्यमा समस्या देखिएकोले अभिभावकले यो अवस्थामा सावधानीपुर्वक विशेष ख्याल गर्नुपर्ने देखिएको छ । प्रविधिको उपयुक्त विधिबाट प्रयोग गर्ने सिपको कमीले विद्यार्थीमा धेरै खालका समस्या देखिएका छन् । इन्टरनेटमा आउने सकारात्मक र नकारात्मक कुरालाई बालबालिकाहरुले सहजै छुट्याउन सकिरहेका छैनन् । यसमा शिक्षक र अभिभावकले शिक्षाका लागि दबाब बढाएको पाइन्छ । यस्ले पनि उनीहरुको मस्तिष्कमा प्रभाव परेको कुरालाई अब हामीले गम्भिर ढंगले बुझ्न र सुधार्न परेको छ ।
हाम्रो आफ्नो जीवनशैलीलाई कसरी समयसापेक्ष बनाउने भन्ने बारेमा हाम्रो ध्यान गयो भने धेरै समस्या हामी आफैं हल गर्न सक्छौं । महत्वाकांक्षा, नकारात्मक धारणा, अन्धविश्वास, आक्रोसलाई बढाएर हैन नियन्त्रण र सन्तुलनमा राख्न जरुरी छ । वर्तमानमा चेतनास्तर बढाउन र सचेतनात्मक गतिविधी बढाउनु परेको छ । मानसिक स्वास्थ्य तथा मनोविमर्श सेवालाई सर्बसुलभ र आम नागरिकको पहुँचमा पुर्याउनु पर्ने आवश्यकता रहेको छ ।
सरल एवम् प्राकृतिक जीवनशैली अपनाउँदै स्वस्थकर भोजन र सकारात्मक सोचाईको विकासमा जोड दिन सकियो भने मानसिक स्वास्थ्य समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ । यसैगरी शारीरिक स्वास्थ्यबारे ख्याल गर्दै, मानसिक रोगबारे शिक्षा र जानकारी लिंदै तनाव व्यवस्थापनका विधि जस्तैः योग, ध्यान, मेडिटेशनलाई दैनिक जीवनको केही समय छुट्याउने गर्नुपर्छ । वर्तमानमा रमाउन र जीउन सक्ने वातावरण निर्माण गरी शारीरिक सक्रीयता बढाउँदै व्यायाम गर्नुपर्छ ।




